कर्मचारीको आन्दोलन फिर्ता

सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । विभिन्न माग राखी श्रमिक ट्रेड युनियनले आह्वान गरेको चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ ।

कार्यालय प्रमुख डम्मर गौतमलाई पदमुक्त गर्नुपर्ने, कर्मचारीहरूको तलबभत्ता उपलब्ध गराउनुपर्ने लगायत विभिन्न माग राखेर युनियनले खानेपानी वितरण र मर्मतसम्भारबाहेकका सबै काम ठप्प पारेको थियो । शुक्रवार संस्थाका पदाधिकारी, स्किम समितिका प्रमुखहरूसहितको अनुरोधमा आन्दोलनका कार्यक्रम फिर्ता लगिएको ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले जानकारी दिए ।

कर्मचारीहरूले पाउने सेवा सुविधा तत्काल उपलब्ध गराउने, कर्मचारी व्यवस्थापनका लागि मूल समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्दै लैजाने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो । कर्मचारी व्यवस्थापन सम्बन्धी उच्च अदालत सुर्खेतमा परेको रिटको अन्तिम फैसला नहुञ्जेलसम्मका लागि आन्दोलन स्थगित गरिएको अध्यक्ष खनालले बताए । साथै शुक्रवारदेखि नै कार्यालयमा लगाइएको ताला खोलेर सबै काम सुचारु गरिएको छ । यद्यपि सहमति अनुसार माग पूरा नभएमा पनि पुनः आन्दोलनमा उत्रिने चेतावनी ट्रेड युनियनले दिएको छ ।

प्रकाशित मितिः   ४ आश्विन २०७६, शनिबार १२:०७