आज संविधान दिवस
सुर्खेत : आज (शुक्रवार) असोज ३ गते, नेपालको संविधान घोषणा भएको दिन । आजको दिनलाई संविधान दिवसको रूपमा मनाइन्छ ।
संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो । संविधान जारी भएको दिनलाई दिवसको रूपमा मनाउने गरिएको हो । आज देशैभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईंदैछ ।
कर्णाली प्रदेश सरकारले पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको छ । गत भदौ १८ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले असोज २, ३ र ४ गते गरेर तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । दिवसको दिन आज बिहान सात बजे वीरेन्द्रनगरको मंगलगढीचौकबाट प्रभातफेरी गर्ने रखुलामञ्चमा पुगेर विशेष समारोह गरिने जनाइएको छ ।
यसैबीच कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । साथै उनले संविधानले व्यवस्था गरेका कुराहरूलाई कार्यान्वयन गर्न सबै मिलेर लाग्नुपर्नेमा समेत जोड दिएका छन् । त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबै मिलेर कर्णाली प्रदेशको समृद्धिमा लाग्नुपर्ने धारणा राखेका छन् ।
प्रकाशित मितिः ३ आश्विन २०७६, शुक्रबार ११:३९
साझा बिसौनी ।