गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता सुरु

सुर्खेत : चौकुने गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । योगी नरहरिनाथ वन विज्ञान क्याम्पस चौकुने–५ तोस्राले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य नवराज रावतले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै सांसद रावतले पश्चिम सुर्खेतको विकासका लागि सबै जुट्नुपर्ने धारणा राखेका छन् । उनले विकासका अन्य पूर्वाधारहरूसँग–सँगै खेलकुदको विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष निर्मला मगर, शिक्षक महासंघ चौकुनेका अध्यक्ष दिनेश जोशी लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । संविधान दिवसको अवसर पारेर फुटबल प्रतियोगिताको आयोजना गर्नुका साथै बिहीवार नै जनजागृत माध्यमिक विद्यालय तोस्रामा सरसफाइ गरिएको छ ।

यस्तै शुक्रवार ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गरिने र शैक्षिक अन्तरक्रिया गरिने कार्यक्रम रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अन्तर्गतको बिहीवार भएको पहिलो खेलमा वडा नं. ५ ले वडा नं. १० लाई ६–३ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा चौकुने गाउँपालिका भित्रका ११ टिमको सहभागिता
रहेको छ ।