‘संसदमा हाम्रो आवाज सुनिदैन’

सुर्खेत : कर्णाली प्रदेशसभाका महिला सदस्यहरूले संसद्मा आफूले उठाएका विषयहरू गम्भीरताका साथ नलिने गरेको गुनासो गरेका छन । उनीहरूले संसद्मा उठाउने हरेक विषयलाई सामान्य रूपमा लिने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महिलाहरूले उठाएका सवालहरू प्राथमिकतामा नपर्ने गरेको उनीहरूको गुनासो छ ।

बुधवार वीरेन्द्रनगरमा यूएनडीपीको संसद् सहयोग परियोजनाको सहकार्यमा मिडिया हाउस र स्वर्णिम एड्भोकेसीले आयोजना गरेको लैङ्गिकताका सवालमा संसदीय निगरानी र समिति प्रणाली विषयक कार्यक्रममा बोल्दै सांसद मीनासिंह रखालले माननीय भएर आए पनि पितृसत्तात्मक सोचले आफूहरूलाई सांसद मान्न तयार कोही पनि नभएको बताइन् । ‘महिला सांसदहरू समाजलाई चुनौती दिएर यहाँसम्म आइपुगेका हुन तर पनि हामीलाई सांसद स्वीकार्दैनन्’ उनले गुनासो पोख्दै भनिन्, ‘पितृसत्तात्मक सोचले हाम्रा कुरा सुनुवाइ हुँदैनन् ।’ प्रदेश सरकारमा एक जना मात्र महिला मन्त्री दिए पनि अन्य आयोग तथा संरचनामा महिला सहभागिता गराउन कोही पनि तयार नभएको बताइन् । मन्त्रालय नदिए पनि संसदीय समिति महिलालाई दिए आफूहरूले काम गर्ने समेत उनले बताइन् ।

अर्की सांसद कृष्णा शाहले महिला सदस्यहरू क्षमतावान हुँदाहुँदै पनि महिलाहरूको नेतृत्वलाई स्वीकार नगर्ने प्रवृत्ति रहेको बताइन् । बजेट विनियोजनमा समेत विभेद् गरेको उनको गुनासो छ । ‘महिलाहरूले उठाएका सवालहरू प्राथमिकतामा पर्दैनन् । निर्णय गर्ने ठाउँमा समेत महिला सहभागिता अझै हुन सकेको छैन’ उनले भनिन्, ‘सरकारमा एक जना महिला मन्त्री बाहेक अरुमा महिला सहभागिता छैन, पुरुष नेताहरूले महिलालाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ ।’

सांसद पद्मा खड्काले पितृसतात्मक सोचले महिलाहरूको क्षमता हुँदा पनि पछि पर्ने गरेको टिप्पणी गरिन् । उनले सभामा विषयवस्तु उठान गर्दा सुनुवाइ नै नहुने गरेको गुनासो गरिन् । ‘महिलाका विषय महिलाले नै उठाउनुपर्ने अवस्था छ’ उनले भनिन्, ‘कतिपय महिलाका लागि ल्याइएका कार्यक्रममा पुरुष सांसदहरूले गम्भीरताका साथ नलिने गरेको पनि पाइन्छ ।’

प्रकाशित मितिः   २ आश्विन २०७६, बिहीबार ११:३५