कर्णालीबासीको सामूहिक दुर्घटना बीमा
सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशका सबै नागरिकहरूको सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । विपद् जोखिमविरुद्ध प्रदेश सरकारले सामूहिक दुर्घटना बीमाको कार्यक्रम ल्याएको हो । सरकारले बुधवार एक कार्यक्रमकाबीच सामूहिक दुर्घटना बीमाको शुभारम्भ गरेको छ ।
कर्णालीका १७ लाख ७० हजार नागरिकहरूको दुर्घटना बीमा गर्नका लागि प्रदेश सरकारले राष्ट्रिय बीमा बोर्डसँग सम्झौता गरेको छ । कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय बीमा कम्पनीका प्रमुख डिल्लीराज अर्यालले सहमति–पत्रमा हस्ताक्षर गरेका छन् । बीमा कार्यक्रमबाट कर्णालीका सबै नागरिकले एक लाख रूपैया“को निःशुल्क दुर्घटना बीमाको सुविधा पाउने प्रदेश सरकारले जनाएको छ ।
वर्षेनी कर्णालीका नागरिकले विपद्बाट ज्यान गुमाउनु परेको छ । दुर्घटना बीमाले विपद््का समयमा राहत पुग्ने अपेक्षा गरिएको छ । बीमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेकाले यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कर्णाली प्रदेशमा प्राकृतिक प्रकोप बाढीपहिरो, चट्याङ, आगलागी लगायतको जोखिम छ । यस कार्यक्रमले यस्ता विपद्का समयमा राहत पुग्ने अपेक्षासहित बीमा कार्यक्रम ल्याएका हाँै ।’ उनले जनतालाई सहज रूपमा सेवा सुविधा दिने दायित्व सरकारको भएकाले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । राष्ट्रिय बीमा बोर्डलाई सबै नागरिकको घरदैलोमा पुगेर सेवा दिन पनि उनले अनुरोध गरे ।
यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दुर्घटना बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । कर्णालीका जनतालाई यस कार्यक्रमले ठूलो राहत प्रदान गर्ने उनको विश्वास रहेको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि एक करोड ५० लाख रूपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले विपद्का कारण घरमा क्षति भए पाँच लाख रूपैँयाँसम्म प्रतिघर दिने व्यवस्था पनि गरेको छ ।
प्रकाशित मितिः २ आश्विन २०७६, बिहीबार ११:१३
साझा बिसौनी ।