‘डान्स सुर्खेत डान्स’ प्रतियोगिता स्थगित
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ असार ।
सुर्खेतमा सञ्चालन भइरहेको ‘डान्स सुर्खेत डान्स’ प्रतियोगिता स्थगित भएको छ । प्रशासनले छानबिन थालेको र अभिभावकहरूबाट समेत व्यापक विरोध भएपछि अन्ततः आयोजक यो प्रतियोगिता स्थगित गर्न बाध्य भएका हुन् । नृत्य प्रतियोगिताको नाममा आयोजकले टिकट बिक्री गर्दै रकम असुली गरेको र अभिभावकहरू ठगिएको समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले छानबिन सुरु गरेको थियो ।
सुर्खेतमा ‘डान्स सुर्खेत डान्स’ कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएको श्रीनाथ फिल्मस् एण्ड प्रोडक्सन हाउस प्रालिले नृत्य प्रतियोगिता स्थगित गरेको हो । आयोजक श्रीनाथले बिहीवार विज्ञप्ती निकालेर भोलि (शनिवार) वीरेन्द्रनगरमा तय भएको प्रतियोगिताको फाइनल स्थगित गरिएको जनाएको हो । नृत्य प्रतियोगिताको फाइनल चरणको कार्यक्रम शनिवारका लागि तय गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले प्रतियोगिताको बारेमा छानबिन थालेको र अभिभावकहरू समेत असन्तुष्ट भएकाले प्रतियोगिता स्थगित गर्ने निर्णय भएको प्रालिले जानकारी दिएको छ ।
प्रतियोगिता सञ्चालन गर्दै आएको श्रीनाथ प्रालिका अध्यक्ष मुकुन्दनाथ योगीले आफूहरूले नृत्य प्रतियोगिता नै स्थगित गरेको बताए । उनले भने, ‘हामीले तत्कालका लागि प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका छौं, प्रशासन र अभिभावकले नै प्रश्न उठाएपछि प्रतियोगिता सञ्चालन गर्नुको अर्थ रहेन । अब हामी आजसम्म बिक्री भएको टिकटबाट सङ्कलन भएको रकम पनि सम्बन्धित पक्षलाई नै फिर्ता गरिदिने
छौं ।’ प्रतियोगिता सञ्चालनका क्रममा केही त्रुटी भएको स्वीकार गर्दै उनले अबका दिनमा टिकट बिक्रीको आधारमा प्रतिस्पर्धीले पाउने भनिएको भोटिङ प्रणाली नै अवलम्बन नगर्ने बताए । आफूहरूले प्रशासनको निर्देशनपछि आवश्यक कागजात बुधवार नै जिल्ला प्रशासन कार्यालयमा बुझाएको र बाँकी कागजात आज (शुक्रवार) बुझाउने जानकारी दिए । ‘प्रतिस्पर्धीबाट टिकट सङ्कलन गर्न ढिला भयो, त्यसैले हामीले समयमा नै प्रशासनमा बुझाउन सकेनौं’ अध्यक्ष योगीले भने, ‘अब सबै टिकट प्रशासनमा बुझाउँछौं, प्राप्त भएको आम्दानी रकम पनि फिर्ता गर्नेछौं ।’
नृत्य प्रतियोगिताको नाममा डान्स आतङ्क मच्चाइएको र प्रतियोगितामा अवार्ड हात पार्ने लोभले प्र्रतिस्पर्धी र तिनका अभिभावकहरू ऋणमा डुब्दै गरेको समाचार साझा बिसौनीमा प्रकाशित भएको थियो । प्रतियोगिताको बहानामा रकम असुल्ने काम भइरहेको खबर छापिएपछि बुधवार नै जिल्ला प्रशासन कार्यालयले आयोजकमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । प्रशासनले छानबिन प्रक्रिया थालेपछि आयोजकहरू प्रतियोगिता स्थगित गर्ने निर्णयमा पुगेका हुन् । प्रतियोगिता सार्वजनिक कार्यक्रम भए पनि प्रशासन र सञ्चार माध्यमले प्रश्न उठाएपछि प्रतियोगिता स्थगित गरिएको अध्यक्ष योगीको भनाइ छ । साथै उनले प्रतियोगितामा फिक्सिङ (मिलेमतो) को हल्ला समेत बाहिर आएको र प्रतिस्पर्धीहरूले समेत भाग नलिने बताएपछि आफूहरू स्थगितको निर्णयमा पुगेको बताए । यसैबीच प्रतियोगिता स्थगित भएपछि आर्थिक भारका कारण तनावमा परेका अभिभावकहरू खुशी भएका छन् । उनीहरूले नृत्य प्रतियोगिताको नाममा टिकट बिक्री गर्ने प्रतिस्पर्धा गराइएको भन्दै विरोध गर्दै आएका थिए ।
अभिभावक र प्रतिस्पर्धामा भाग लिएका सहभागीहरूको तीव्र असन्तुष्टी यो प्रतियोगितामा देखिएको थियो । यसैबीच आयोजकले प्रतियोगिता स्थगित गर्ने र रकम पनि फिर्ता दिने निर्णय गरेपनि प्रशासनले यस विषयमा आज छानबिन गर्दैछ । बिहीवार सार्वजनिक बिदा परेका कारण आज छानबिनको काम हुने प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले
जानकारी दिए । कला र संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको खोजीका लागि भन्दै प्रतियोगिता सुरु गरिए पनि अभिभावकहरूले भने यसमा तीव्र असन्तुष्टी जनाउँदै आएका थिए ।
साझा बिसौनी संवाददाता ।