घरभित्रैबाट संघर्षको सुरुवात

                             किमसरा खत्री

सिम्ता गाउँपालिका–८, साहुखोला, सुर्खेतमा जन्मिएकी किमसरा खत्री बुवा जङ्गबहादुर खत्री र आमा हुमी खत्रीकी कान्छी छोरी हुन् । वि.सं. २०३९ साल वैशाख ११ गते जन्मिएकी उनी विगत लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम गर्दै आएकी छिन् । सानैदेखि निडर तथा मिलनसार स्वभावकी उनी आज पनि उस्तै स्वभावकी छिन् । सामाजिक सेवा गर्नको लागि अपाङ्गताले कुनै फरक नपार्ने उनको अनुभव छ । अपाङ्गताको क्षेत्रमा सपर्पित हुने सपना बोकेकी किमसराले आफ्नो पेशागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटिन्ः

समानताको लडाईं घरबाट सुरु

मेरो बुवाआमा कृषि काम गर्ने । सुर्खेत जिल्ला भए पनि विकट गाउँ सिम्ता गाउँपालिकामा मेरो जन्म भएको हो । दुई बहिनी छोरी र चार भाइ छोरा गरी हामी ६ भाइबहिनी थियौं । म भने घरकी कान्छी छोरी । म भन्दा पछाडि एकजना भाइ छ ।

म जन्मजात शारीरिक रुपमा अपाङ्गता भएकी होइन । कक्षा ५ मा पढ्दाताका हो । म रुखबाट लडेँ । तर समयमै उपचार नपाएर आज म अपाङ्गताको जीवन बाँचिरहेकी छु । समयमै उपचार पाएको भए सायद मैले यो अवस्था भोग्नुपर्ने थिएन ।
यसै पनि हाम्रो समाजमा छोरीलाई पढाउनु हुन्न र छोरीले घरको काम मात्रै गर्नुपर्छ भन्ने सोच छ । अझै मेरो यो अवस्थामा त मैले परिवारबाटै समानताको लागि लड्नु पर्ने भयो । तर पनि मैले हिम्मत हारिनँ । बुवा–आमा तथा दाइ–भाइहरुसँग लडेरै आज म यो स्थानसम्म आइपुगेकी हुँ । आजभोलि भने बुवा–आमाको राम्रो सहयोग पाएकी छु । अझै पनि समाजसँग लड्दै छु । पहिला भन्दा काम गर्नको लागि केही सहज वातावरण भएको छ ।

शिक्षा ग्रहण गर्नको लागि पनि ठूलो संघर्ष गरेकी हुँ । प्राथमिक तहको शिक्षा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय साहुखोलाबाट गरें । त्यसपछि निम्न माध्यमिक तथा माध्यमिक तहको शिक्षा जनकल्याण माध्यमिक विद्यालय काप्रीचौरबाट गरेकी हुँ । वि.सं. २०६० सालमा एसएलसी उत्तीर्ण गरेँ । सुर्खेत क्याम्पस शिक्षाबाट नेपाली विषयमा स्नातकोत्तर गरीसकेकी छु । परिवारमा उच्च शिक्षा प्राप्त गर्ने म नै पहिलो हुँ ।

अपाङ्गताको कारण मैले समय भन्दा ढिला एसएलसी पास गरें । बीच–बीचमा पढाइ पनि छाड्नुपर्ने भयो । घरको आर्थिक समस्या र १० वर्षे द्वन्द्वका कारण पढाइमा अवरोध आएको थियो । जे भए पनि मैले मेरो जीवनको लक्ष्य भेटाउने भन्दै अगाडि बढें । अझै सफल त भएकी छैन सफलताको बिन्दुसम्म पुग्न सफल भएकी छु ।

अपाङ्गता भएकाहरूको लागि समर्पित

म हाल सबैका लागि पढाई परियोजना अन्तर्गत समुदायमा अपाङ्गता कार्यकर्ताको रुपमा सिम्ता गाउँपालिकामा काम गर्दै आएकी छु । करिब एक वर्ष भयो मैले उक्त स्थानमा काम गर्न थालेको । शिक्षा क्षेत्रमा अपाङ्गता भएकाहरुलाई कसरी समेट्न सकिन्छ भन्ने उद्देश्य यो कार्यक्रमले राख्ने गर्दछ ।

त्यो बाहेक म अपाङ्ग सशक्तीकरण केन्द्रको उपाध्यक्ष, महिला मानवअधिकार रक्षक सञ्जालको पनि उपाध्यक्ष भएर काम गरिसकेकी छु । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्पको सचिव समेत भएर काम गर्दै आएकी छु । यी लगाएत थुप्रै संघ–संस्थाहरुमा आवद्ध छु । विभिन्न माध्यममार्फत सामाजिक कार्य गरिरहेकी छु । म यसैमा सन्तुष्ट पनि छु ।

शारीरिक अपाङ्गता त्यसमा पनि महिला ग्रामीण क्षेत्रमा काम गर्न त एकदमै अप्ठ्यारो छ । तर म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्ने क्षमता राख्दछु । सानो हुँदा नेपाली सेना बन्ने ठूलो सपना देखेको थिएँ । तर त्यो सपना पूरा गर्न सकिएन । अपाङ्गताका कारण नै म नेपाली सेनामा भर्ना भइनँ । आज सामाजिक अभियानमा लागेको छु । भोलि कुनै पनि बेला नेतृत्व तहमा पुग्न चाहन्छु । जसले हामीजस्ता अपाङ्गता भएकाहरुको लागि आवाज उठाउन सकोस् ।

मलाई मेरो पेसा नै आनन्दको लाग्छ । आफूजस्तैको नजिक रहेर उनीहरुकै लागि काम गर्न पाउँदा त्यो भन्दा खुशीको कुरा त के हुन सक्ला र ? परिवारकै असहयोगको कारण आर्थिक अभाव त कति भोगियो कति, पछिल्लो समय आर्थिक रुपमा समेत ठीकै छ । अझै पनि अपाङ्गता भएकाहरुसँगै काम गर्न पाउँ । उनीहरुकै सेवामा जीवन समर्पित गर्न चाहन्छु ।

प्रकाशित मितिः   १ आश्विन २०७६, बुधबार १३:२८