घर नहुनेहरूका लागि आमाघर

सुर्खेत : उनी आठ वर्षका मात्रै भए । बुवा बितिसके, आमा मजदुरी गर्छिन् । मजदुरी गरेर कमाएको पैसाले बिहान–साँझको छाक टार्नै मुस्किल पथ्र्यो । न चाहेको चिज पाइने न पेटभरी खान पुग्ने । आफूसँगैका साथीभाइ कापीकलम बोकेर विद्यालय गइरहँदा वीरेन्द्रनगरका हरिशरण (नाम परिवर्तन) भने घर छोडेर हिँडे ।
घर छोडेर हिँडेपछि भोक लाग्दा पेट भर्ने खानाको होस् या प्यास लाग्दा पानीको जोहो आफैले गर्नुपर्ने भयो । उनी सडकमै भौतारिन थाले । सडकमै उनले आफूजस्तै बेघर साथीहरू भेटे । उनीहरूसँग हिँड्न थाले । कहिले अरुसँग मागेर चलाए त कहिले चोरेरै पेट भरे । मागेर नपाएको दिन फोहोरको डङ्गुरमा भेटिने खानेकुरा उठाएर खाए । यसरी सडक जीवन बिताउँदै आएका हरिशरण यतिबेला भने सडकबाट आमाघरमा पुगेका छन् । उनी आमाघर मात्रै पुगेका छैनन् विद्यालय जान समेत थालेका छन् ।
वीरेन्द्रनगरमा सञ्चालित आमाघरले सडकबाट उद्धार गरेपछि हरिशरणको दैनिकी बदलिएको छ । खानकै लागि भोको पेट लिएर दिनभरी भौतारिनु पर्दैन । न अरुसँग दुई-चार पैसा माग्नुपर्छ न सडकपेटीमा खुलाआकाशमुनी सुत्नुपर्छ । आमाघर नै उनका लागि आफ्नो घर बनेको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक महाशाखाले विभिन्न संघ–संस्थाको सहकार्य र
समन्वयमा जोखिममा परेका बालबालिकाको उद्धार तथा पुनस्र्थापनाका लागि ‘आमाघर’ सञ्चालनमा ल्याएपछि हरिशरणजस्तै घर नहुने बालबालिकाहरूले घर पाएका छन् । वीरेन्द्रनगर–९ स्थित एकल महिला समूहको कार्यालयमा सञ्चालन गरिएको ‘आमाघर’मा अहिले नौं जना बालकहरूलाई सडकबाट उद्धार गरेर राखिएको छ ।
विभिन्न कारणले सडक जीवन बिताइरहेका बालबालिकाहरूको उद्दार र पुनस्र्थापनाका लागि आमाघर सञ्चालनमा ल्याइएको हो । जोखिममा परेका सडक बालबालिकाहरूको उद्धार र पुनस्र्थापनाका लागि सामाजिक महाशाखाको प्रमुख संयोजक हुने गरी सडक बालबालिका उद्धार तथा व्यवस्थापन समिति गराइएको छ । यसको सह–संयोजक वीरेन्द्रनगर नगरपालिकालाई राखिएको छ । समितिमा सुर्खेतस्थित बालबालिकासँग सम्बन्धी काम गर्ने संघ–संस्था सदस्य रहेका छन् । सोही समितिले सञ्चालन गर्ने आमाघर बेघर बालबालिकाहरू पुनस्र्थापना गर्ने थलो हो ।
प्रदेश सरकारले आफ्नै बालगृह नभएकाले हाललाई अल्पकालीन रूपमा एकल महिलाको कार्यालयमा अल्पकालीन रूपमा राखिएको सामाजिक विकास महाशाखाका अधिकृत यशोदा शर्माले जानकारी दिइन् । उनका अनुसार आमाघर सञ्चालनका लागि सुर्खेतस्थित आवाज संस्था, स्याक नेपाल, सुन्दर नेपाल संस्था, एसओएस, एकल महिला समूह र बाल क्लिनिकले सहयोग गरेका छन् । आमाघरमा राखिएका बालकहरूका लागि संस्थाहरूबाट स्वास्थ्य जाँच, आवास, खाद्यान्न, खेलकुदका सामग्रीलगायत सहयोग भएको शर्माले जनाइन् । सबैको सहयोग र सहकार्यबाट बालगृह सञ्चालनमा ल्याइएको उनको भनाइ छ । सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाका लागि दीर्घकालीन योजना पनि बनाइने शर्माले बताइन् । दीर्घकालीन रूपमा आमाघर सञ्चालनका लागि वीरेन्द्रनगर नगरपालिकालाई जिम्मा दिइने पनि उनको भनाइ छ ।
पछिल्लो समय वीरेन्द्रनगरमा सडक बालबालिकाको संख्या बढ्दो छ । सामाजिक विकास महाशाखाका अनुसार वीरेन्द्रनगरमा करिब ३५ जना सडक बालबालिका रहेका छन् । उनीहरूको उद्धार तथा पुनस्र्थापनाका लागि सामाजिक विकास शाखाको अगुवाइमा आमाघर सञ्चालनमा ल्याइएको हो । बालबालिकाको उद्धार गर्ने र परिवारसँग पनि मिलन गराउने लक्ष्य लिइएको छ । अहिले बालगृह नभएको अवस्थामा अस्थायी रूपमा केही समयका लागि मात्र एकल महिला समूहको कार्यालयमा राखिने शाखाले जनाएको छ ।
एकल महिला समूह सुर्खेतका अध्यक्ष शितलसिंह राठौंरले सबैको सहयोग र सहकार्यमा उनीहरूको हेरचाह गरिरहेको बताइन् । भदौ २९ गते बाल दिवसका दिन आमाघर सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् । ‘सडक बालबालिकाको लागि पनि केही गर्नुपर्छ भनेर अहिले हामीले अल्पकालीनका लागि मात्रै सडक बालबालिकाको व्यवस्थापन र पुनस्र्थापनाको लागि बालबालिकासँग सम्बन्धित संघ–संस्थाको सहकार्य र समन्वयमा आमा घर सञ्चालनमा ल्याएका हौं’ उनले भनिन्, ‘हामीले अब दीर्घकालीन रूपमा के गर्न सकिन्छ भनेर योजना बनाउने विषयमा सबैसँग छलफल गछौं ।’
प्रकाशित मितिः १ आश्विन २०७६, बुधबार १३:२१
साझा बिसौनी ।