तीन हप्तादेखि औषधि अभाव
जाजरकोट : जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन । अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्या भएको हो ।
दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकी लगायतका बिरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि औषधि खरिद नगर्दा अभाव भएको हो । जिल्ला अस्पतालमार्फत सरकारले ७२ प्रकारका औषधि निःशुल्क दिने भने पनि यतिबेला सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनिटेडीन, मेट्रो, एमोक्सीसिलिन, भुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रो, एसिलक, पोन्टक्स लगायतका अत्यावश्यक औषधिको अभाव भएको छ ।
मौसम परिवर्तन भएसँगै अस्पतालमा बिरामीको संख्या बढ्दो छ । तर निःशुल्क पाउने औषधि समेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ६०÷७० जना भाइरल ज्वरोका मात्र बिरामी आउने गरेका छन् । तर उपचारको लागि जिल्ला अस्पताल पुग्ने बिरामीले औषधि नपाउँदा समस्यामा पर्ने गरेका छन् ।
प्रकाशित मितिः १ आश्विन २०७६, बुधबार १३:१५
साझा बिसौनी ।