बेवारिसे चौपायाको गणना सुरु

सुर्खेत : सुर्खेतमा रहेका बेवारिसे चौपाया (गाई–गोरु)को व्यवस्थापन गर्नका लागि गणना सुरु गरिएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको कार्यदलले सुर्खेतमा मंगलवारदेखि बेवारिसे पशुहरूको गणना सुरु गरेको हो ।

मंगलवार मात्रै एक सय ४२ वटा बेवारिसे पशुहरू भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको भेरी पुलदेखि बाङ्गेसिमल खण्डमा ८५ छाडा पशुहरू भेटिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक तथा कार्यदलका संयोजक डा. टंकप्रसाद प्रसाईले जानकारी दिए । संयोजक प्रसाईका अनुसार सुर्खेतको बाङ्गेसिमलदेखि रानीघाटसम्मको सडक खण्डमा ५७ वटा गाईहरू भेटिएका छन् ।

बाङ्गेसिमलदेखि रानीघाटसम्मको सडकखण्डमा भेटिएका अधिकांश गाईहरू गौशालाभित्रका रहेको प्रसाईको भनाइ छ । सुर्खेत लगायत प्रदेशका अन्य ठाउँमा बेवारिसे रूपमा छोडिएका पशुहरूको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदलले पशुहरूको गणना सुरु गरेको प्रसाईले बताए । वीरेन्द्रनगर आसपासमा रहेका छाडापशुहरूको गणना गरेर व्यवस्थापनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइने उनले जनाए । छाडा छोडिएका पशुहरूको उचित व्यवस्थापनका लागि व्यवस्थित गौशालाको निर्माण गर्नुपर्ने सुर्खेतका पशु अधिकारकर्मी कृष्ण ढकालले बताए ।

प्रकाशित मितिः   १ आश्विन २०७६, बुधबार १३:१०