तेलपानी–भुरीगाउँ सडक विस्तार हुने

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणको भएको अबरोध हटेको छ । सडक खण्डमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा विवाद हुँदै आएको थियो । ५१ किलोमिटर दूरीको यो सडक निर्माणका लागि सर्वोच्च अदालतले निकास दिएपछि सडक बन्ने बाटो खुलेको हो ।

सरकारले यो सडक निर्माणका लागि बजेटसमेत छुट्याएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका–२, भुरीगाउँ अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकामा रहेको तेलपानी हुँदै कर्णालीसम्म चिठ्ठीपत्र पु¥याउन २०२५ सालमा जिल्ला पञ्चायतले हुलाकी सडकको ट्याक खोलेको थियो । हुलाकीहरूले त्यही बाटो भएर चिठ्ठीपत्र ओसार–पसार गर्थे । कर्णालीका सर्वसाधारणले बर्दिया पुग्न यही बाटो प्रयोग गर्थे । वर्षाको सिजनबाहेक उक्त सडकमा सार्वजनिक साना सवारी साधनबाट यात्रु बोक्ने गरिएको छ । तर, सडक विस्तार र मर्मत हुन नसकेका कारण वर्षा सिजनमा सवारी साधन बन्द हुने गरेका थिए । ‘बर्दियाका लागि मात्रै होइन, सिंगो सुदूरपश्चिम प्रदेशका सर्वसाधारणलाई पनि कर्णाली पुग्न सबैभन्दा छोटो दूरीको बाटो यही हो ।

सडक विस्तारसँगै घण्टाभरमै बर्दियाबाट कर्णाली पुग्न सकिन्छ,’ भुरीगाउँ–तेलपानी सडक निर्माणका लागि लामो समयदेखि वकालत गर्दै आएका हरिबहादुर थापाले भने, ‘उक्त सडक प्रदेश ५ को पश्चिमक्षेत्र, सुदूरपश्चिम र कर्णाली प्रदेशको लाइफलाइन बन्नेछ ।’ छोटो दूरीको सडक भएका कारण कर्णाली र तराईको उत्पादन सहजै ल्याउन र लैजान सकिनेछ ।

प्रकाशित मितिः   ३१ भाद्र २०७६, मंगलवार १२:१४