‘पितृसत्ताले महिला ओझेलमा’

सुर्खेत : सुर्खेतमा बसेर विद्यार्थी राजनीतिमा सक्रिय महिला नेतृहरूले पितृसत्ताले राजनीतिमा अप्ठ्यारो पारेको बताएका छन् । सोमवार क्रियाशील पत्रकार महिला समाज (डब्लूडब्लूजे) सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको सण्डे क्लबमा सहभागी उनीहरूले यस्तो बताएका हुन् । विद्यार्थी संगठनका पदाधिकारी महिलाहरूले पुरुष सरह बाहिर निस्किएर काम गर्न नसकेका कारण आफूहरू पछिपरेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका यमुना सापकोटाले बाहिर निस्किएर खुलेर काम गर्न नसक्दा नै अगाडि बढ्न नसकिएको बताइन् । ‘महिलाहरू आफैमा आर्थिक रूपले पनि पछाडि परेका छन्’ उनले भनिन् ‘त्यसमा छोरीलाई राजनीतिमा लाग्नलाई घरपरिवारबाट असहयोग हुन्छ ।’ परिवारबाट राजनीति भन्दा जागिरको आशा बढी हुने उनले बताइन् ।

त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तिर्सना हमालले नेतृत्वमा बस्नेहरूले नै महिलालाई प्रमुख पद दिन हिच्किच्याउने गरेको बताइन् । ‘२००७ सालदेखिनै महिलाहरू हरेक आन्दोलनमा लडेकै छन्’ उनले भनिन् ‘तर प्रमुख पद दिनलाई कन्जुस्यार्इं गरिन्छ, यसको लागि महिला आफै मागेर नभए खोसेरै भए पनि अधिकार पाउन लड्नुपर्छ ।’
अखिल क्रान्तिकारीका जिल्ला कमिटी सदस्य सरस्वती सिंहले विभिन्न जनआन्दोलनमा महिला नेतृहरूको उल्लेख्य भूमिका भएतापनि त्यसको उचित कदर हुन नसकेको बताइन् । कार्यक्रममा विभिन्न राजनीतिक दलसँग आवद्ध भएर विद्यार्थी राजनीति गरिरहेका महिला राजनीतिकर्मीको उपस्थिति रहेको थियो । क्रियाशील पत्रकार महिला समाज सुर्खेतकी अध्यक्ष लक्ष्मी भण्डारीले विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूका समस्या बाहिर ल्याउनका लागि कार्यक्रम गर्दै आएकोे बताइन् ।

प्रकाशित मितिः   ३१ भाद्र २०७६, मंगलवार १२:१२