४८ वर्षपछि आफ्नै जग्गाको मालिक

तीन पुस्ताले उपभोग गरेपछि लालपूर्जा हातमा
जग्गाधनी पूर्जा हस्तान्तरण गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा ।

 मुना हमाल
सुर्खेत : आफ्नो तीन पुस्तादेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण–पत्र (लालपूर्जा) पाउन चौकुने गाउँपालिकाको वडा नम्बर ९ घाटगाउँका गोरख राजीलाई ४८ वर्ष कुर्नुप¥यो । हजुरबुवाको पालादेखि उपभोग गरे पनि तेस्रो पुस्ताका गोरखले लालपूर्जा प्राप्त गरे ।

भोगचलन गर्दै आएको भए पनि जग्गा आफ्नो नाममा थिएन । त्यसैले न अंशवण्डा गर्न मिल्ने न बेचबिखन गर्न सकिने । पुस्तौदेखि उपभोग गरिरहेको जमिनको प्रमाण–पत्र नहुँदा सुकुम्बासी जस्तै बन्नुपरेको पीडा भोगेका उनी यतिबेला भने लालपूर्जा पाएपछि हर्षित भएका छन् । उनले आफ्नो जग्गाको मालिक आफै हुन पाएको भन्दै खुशी व्यक्त गरे । चौकुने गाउँपालिकाको राजीगाउँकै जगत राजीले पनि लामो समयको प्रतिक्षापछि लालपूर्जा पाएका छन् । उनी भन्छन् ‘वर्षांैदेखि भोगचलन गर्दै आएको जग्गा आफूले पाउँदा खुशी लागेको छ । दुई÷तीन पुस्तादेखि भोगचलन गरेको जग्गा बल्ल पायौं ।’

गोरख र जगत मात्र होइन सुर्खेतमा आफ्नै जमिन आफ्नो बनाउन नसकेकाहरूको संख्या ठूलो छ । तीन÷चार पुस्तादेखि जग्गा भोगलचन र बसोबास गर्दै आए पनि लालपूर्जा हातमा छैन । वि.सं. २०२८ सालमा नै जग्गाको नापी गरिएको थियो । तर नापी गर्दा विभिन्न कारण देखाउँदै धेरैको जग्गालाई एउटै कित्तामा राखिएको थियो । एउटै कित्तामा ‘गाउँ ब्लक’ बनाएर राखिएको त्यही गाँठो फुकाउँदै नापी कार्यालय सुर्खेतले नागरिकहरूलाई लालपूर्जा वितरण गर्न सुरु गरेको छ ।
आफ्ना बाबु–बाजेको पालादेखिनै भोगचलन गर्दै आए पनि अहिलेसम्म सुर्खेतका विभिन्न गाउँ ब्लकहरूमा बसोबास गर्दै आएका नागरिकले लालपूर्जा पाएका थिएनन् । जिल्लाका विभिन्न ठाउँमा गरेर ७१ वटा ब्लक थिए । नापी कार्यालय सुर्खेतले हालसम्म ७१ गाउँ ब्लकमध्ये ५१ वटा गाउँ ब्लकमा बसोबास गर्दै आएका नागरिकलाई लालपूर्जा वितरण गरिसकेको छ । कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा ३७ वटा गाउँ ब्लकमा बसेका नागरिकलाई लालपूर्जा वितरण गरिसकेको थियो भने १४ वटा ब्लकमा बसोबास गरेका नागरिकलाई चालु आर्थिक वर्षमा वितरण गरेको हो । अझै पनि २० वटा गाउँ ब्लकको प्रमाणपूर्जा वितरण गर्न बाँकी रहेको छ ।

नापी कार्यालयले १६ वटा गाउँ ब्लकको जग्गा नाप नक्सा गरिसकेको छ । अब ती गाउँ ब्लकहरूमा जग्गा भएका नागरिकलाई लालपूर्जा वितरण गर्न बाँकी रहेको छ भने चार वटा गाउँ ब्लक नापनक्सा गर्न बाँकी रहेको नापी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिए । नापी कार्यालयले यस वर्ष गाउँ ब्लकमा बसोबास गरेका नागरिक सबैलाई लालपूर्जा वितरण गरिसक्ने लक्ष्य रहेकोे जनाएको छ । कार्यालयले सुर्खेतको पश्चिमका तीन वटा स्थानीय तहमा रहेका १४ वटा गाउँ ब्लकमा बसोबास गरेका नागरिकलाई लालपूर्जा वितरण गरेको छ । कार्यालयले चौकुने गाउँपालिकाको बासपानी, रेक्चा, पञ्चपुरी नगरपालिकाको छाप्रे र सालकोट तथा बराहताल गाउँपालिकाको लेखगाउँमा यही चालु आर्थिक वर्षमा लालपूर्जा वितरण गरेको हो ।

१६ वटा गाउँ ब्लकको नापनक्सा भइसकेकाले ती ठाउँमा दशैंपछि लालपूर्जा वितरण गर्ने तयारी कार्यालयको छ । सूचना अधिकारी शर्माका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिकाको गुमी, घुमखहरे, मालारानी, सिम्ताको बजेडीचौर, लेकवेशी नगरपालिकाको राजीगाउँ, डाँडागाउँ, गुरूङ्गडाँडा, सेरेनी, फालिकोटमा दशैंपछि लालपूर्जा वितरण गरिनेछ ।
यस्तै यसै आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ मा रहेको दमारगाउँ, लेकवेशी नगरपालिकाको साटाखानी, बराहताल गाउँपालिकाको पोखरीकाँडामा रहेको नयाँ वन र भेरीगंगा नगरपालिकाकोे अमलाचौरमा नापनक्सा गरेर लालपूर्जा वितरण गरिने उनले जनाए ।

आफ्नै नाममा लालपूर्जा भएपछि नागरिकहरू भने खुशी भएका छन् । जग्गाको लालपूर्जा नहुँदा धितो राख्न, किनबेच गर्नलगायतका समस्या नागरिकले झेल्दै आएका थिए । पञ्चपुरी नगरपालिका वडा नं. ८ का मुक्तिप्रसाद घिमिरेले वर्षौंपछि घरदैलोमै लालपूर्जा पाउँदा खुशी व्यक्त गरे । ‘लालपूर्जा नपाउँदा हामीलाई विभिन्न समस्याहरू झेल्नुपरेको थियो । अहिले घरदैलोमै लालपूर्जा पाउँदा खुशी लागेको छ’ उनले भने, ‘अब आफ्नै नाममा लालपूर्जा आएपछि सहज हुने भयो ।’

प्रकाशित मितिः   ३१ भाद्र २०७६, मंगलवार १२:०५