आर्थिक मामिला मन्त्रीको राजीनामा माग्दै कांग्रेसद्धारा संसद अवरुद्ध

सुर्खेत, ३० भदौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेको छ । कर्णाली प्रदेशसभाको सोमवार बसेको वैठकमार्फत कांग्रेस सांसदहरुले आर्थिक मामिला मन्त्रीको राजीनामा मागेका हुन् ।

आर्थिकमन्त्रीले संसदलाई झुठो विवरण पेश गरेको, संसदबाट सर्वसम्मत रुपमा पारित गरिएको विनियोजन विधेयकलाई तोडमोड गरिएको लगायतका आरोप लगाउँदै प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले मन्त्री ज्वालाको राजीनामा मागेका हुन् । ‘सभाले २२ औं बैठकबाट विनियोजन विधेयक सर्वसम्मतले पास गरेको थियो’ संसदको विशेष समयमा बोल्दै शाहीले भने, ‘तर आज आउँदा अर्कै भएर आएको छ । सदनमा एउटा विधेयक पास भयो बनेर अर्कै आयो ।’

सिंगो सदनलाई छल्ने आर्थीक मामिला मन्त्री पदमा रहन नमिल्ने समेत उनले बताए । ‘अर्थ मन्त्रीले विधेयकको एउटा अंग नै काटेर बाटोमा फाल्नुभएको छ’ शाहीले थपे भने ‘अर्थमन्त्रीले राजीनामा नदिएसम्म हामीहरुले सदन अगाडी बढ्न दिदैनौँ ।’

सरकार सदनको अभिन्न अंग भएको भएपनि विनियोजन विधेयक प्रमाणित र प्रमाणिकरण हुँदा अंग नबनेकोमा उनले आक्रोश पोखे । आर्थीक मामिला मन्त्रीले प्रतिवद्धता गरेबमोजिमको विधेयक नआएकोले सदनलाई गुमराहमा राख्ने मन्त्रीको राजीनामा माग गर्नुपरेको उनले बताए । सभाको मर्यादा नहुने कुरा सरकारका आर्थीक मामिला मन्त्रीले गरेको उनले आरोप लगाए ।

प्रतिपक्षले बैठक सुचारु हुन नदिने अडान राखेपछि सभामुख राजबहादुर शाहीले संसद वैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रकाशित मितिः   ३० भाद्र २०७६, सोमबार १६:३४