४६ स्वास्थ्य संस्थामा सामाजिक परीक्षण
सुर्खेत, २२ असार । (साबिस)
सुर्खेत जिल्लाका ४६ स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्पन्न गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको सहजीकरणमा जिल्लास्थित स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोट, दशरथपुर र अवल्चिङसहित विभिन्न ४३ स्वास्थ्यचौकीहरूको सामाजिक परीक्षण गरिएको जनाइएको छ । ३६ वटा स्वास्थ्य संस्थामा यसअघि पनि सामाजिक परीक्षण गरिएकोमा १० वटा स्वास्थ्य संस्था भने यसवर्ष नयाँ छन् । गतवर्ष बनाइएको कार्ययोजना अनुगमन गर्दा अधिकांश कार्ययोजना पूरा भएको पाइएको असल शासन क्लबका घनश्याम केसीले जानकारी दिए । यस वर्ष पनि नयाँ कार्ययोजना निर्माण गरिएको उनले बताए ।
उनका अनुसार सामाजिक परीक्षणका क्रममा स्वास्थ्य संस्थाको अवलोकन, सेवाग्राहीहरूसँग भेटघाट, स्वास्थ्य व्यवस्थापन समितिसँग बैठक गरिएको छ । सामाजिक परीक्षणमा स्वास्थ्य संस्थामा सुशासन र जवाफदेहिताका सूचकहरू, सेवाप्रति सेवाग्राहीको सन्तुष्टि, औषधिको उपलब्धता लगायतका कुराको अध्ययन अनुगमन गरी थप सुधारका लागि छलफल गरिएको असल शासन क्लबले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।