डान्स आतङ्क रोक
कला र संस्कृतिको संरक्षण हुनु पर्दछ । कला र संस्कृतिले हाम्रो पहिचान पनि दिलाउँछ । संस्कृतिले नै समाजमा विकासको ढोका खोल्दछ । कलाले मानिसलाई विकासको गतिमा दौडन सहयोग गर्दछ । त्यसकारण पनि कला, संस्कृति र सम्पदाको महŒव बढ्दै गएको हो । तर कला र संस्कृति संरक्षण गर्ने नाममा विकृति हुनु हुँदैन । यसले समाजको गतिलाई उल्टो दिशातर्फ लैजान्छ । सुर्खेत आफैमा पनि कला र संस्कृतिको धनी हो । यहाँ अनेकौं संस्कृतिहरू छन् । जसले जिल्लाको समग्र शिर नै ठाडो बनाएका छन् । पछिल्लो समय सुर्खेतमा कला, संस्कृतिको संरक्षण र तथा नयाँ प्रतिभाको खोजी गर्ने बहानामा सुर्खेतमा ‘डान्स’ आतङ्क नै मच्चाइएको छ । ‘डान्स सुर्खेत डान्स’ को नाममा अहिले सञ्चालन भइरहेको नृत्य प्रतियोगिताले कला र संस्कृतिको संरक्षण गर्नुको साटो सांस्कृतिक विचलन ल्याएको छ । मिलेर बसेको परिवारलाई विखण्डनतर्फ धकेलेको छ । प्रतिभा खोज्ने बहानामा कमाउ धन्दा भइरहेको छ । प्रतियोगिताको नाममा प्रतिभाको कदर हुनुको साटो पैसाको होडबाजी भइरहेको छ । डान्स प्रतियोगिताले धेरैको परिवारमा बेचैनी बढेको समाचार पनि सार्वजनिक भएको छ । अर्कोतर्फ प्रतियोगितामा उत्कृष्ट अवार्ड हातपार्ने सपना देखेका अधिकांश प्रतिस्पर्धी र तिनका परिवार यतिबेला उल्टै ऋणमा डुबेका छन् । यो कुनै पनि हालतमा राम्रो होइन । यसलाई तत्काल रोक्नु आवश्यक छ ।
नृत्यु प्रतियोगिता आफैमा राम्रो हो । तर, यसको सञ्चालन प्रक्रिया र त्यहाँभित्र अपनाइएका शैली डरलाग्दा छन् । सामान्यतया नृत्य प्रतियोगितामा प्रतिभा, कला र क्षमताको मूल्याङ्कन हुनुपर्दछ । यही आधारमा नै उत्कृष्ट छनौट हुनु पर्दछ । तर आयोजकले प्रतिस्पर्धामा भाग लिएकाहरूबाट मोटो रकम असुली रहेका छन् । प्रतिस्पर्धीलाई टिकट थमाएर जसले धेरै बिक्री गर्छ यसैलाई धेरै भोट पाउने नियम बनाएर तनाव उत्पन्न गराइएको छ । जसको परिणामा सीप प्रदर्शन गर्नुको साटो प्रतिस्पर्धी र तिनका आफन्तहरू यतिबेला आयोजकलाई कसले बढी रकम बुझाउने र अवार्ड हात पार्ने भन्ने दाउमा छन् । कतिपय प्रतिस्पर्धी टिकट बिक्री गर्न नसकेर प्रतियोगिताबाटै बाहिरिएका छन् । उनीहरू क्षमतावान हुँदाहुँदै पनि असफल भएका छन् । कारण उनीहरूले आयोजकको पैसा कुम्ल्याउने अभियानलाई साथ दिन सकेनन् । अहिले उत्कृष्ट ६ मा पर्न सफल भएकाहरू निकै तनावमा छन् । उनीहरूका अभिभावकहरू मानसिक रूपमा कमजोर बनेका छन् । सन्तानको अवार्ड जित्ने चाहना पूरा गर्न उनीहरूले ऋण निकाल्नुपर्ने बाध्यता आइलागेको छ । टिकट बिक्री नभएपछि घरमा थन्काएर ऋण तथा सापटी गर्दै पैसा बुझाउने काम अभिभावकहरूले गर्न थालेका छन् । वास्तवमा यो प्रतियोगिताले नाचमा भन्दा पनि कसले धेरै टिकट बेच्न सक्छ भन्ने प्रतिस्पर्धा गराएको छ । स्वयम् प्रतिस्पर्धी र तिनका अभिभावकहरूलाई समेत यो प्रक्रिया मन परेको छैन ।
प्रतियोगिताको अन्तिम चरण अन्तर्गत आउँदो शनिवार वीरेन्द्रनगरमा फाइनल प्रतिस्पर्धा हुँदैछ । सर्वसाधारणको भोटको नाममा एउटा टिकट बराबर एक भोट भनिएको छ । यसले अवार्ड जित्न राम्रो नाच होइन, धेरै टिकट बेच्नुपर्छ भन्ने प्रतिस्पर्धा गराएको छ । आफ्नो सन्तानको खुशीका लागि अभिभावकले ऋण तानेर भएपछि आयोजकलाई रकम बुझाएका छन् । यो कुनै पनि हालतमा राम्रो कार्य होइन । आयोजकले प्रतियोगिता सञ्चालनका लागि भन्दै विभिन्न प्रायोजकहरूबाट पनि रकम असुलेका छन् । त्यतिमात्र नभएर प्रतिस्पर्धीलाई अवार्डको लोभ देखाएर टिकट बेचाउँदै लाखौं रकम असुल्ने काम भइरहेको छ । यसलाई तत्काल रोक्नु पर्दछ । यो गलत प्रक्रिया र कमाउ धन्दा रोक्न प्रशासनले तत्काल आवश्यक पहल चाल्नु पर्दछ ।
साझा बिसौनी संवाददाता ।