श्रीनाथ प्रोडक्सनमाथि छानविन सुरु, टिकट बिक्री रोक्न निर्देशन

3साझा बिसौनी संवाददाता सुर्खेत, २२ असार । कला संस्कृतिको संरक्षण र प्रतिभाको खोजी गर्न भन्दै सुर्खेतमा चलाइएको ‘डान्स आतङ्क’ प्रति प्रशासनले कारबाही अगाडि बढाएको छ । ‘डान्स सुर्खेत डान्स’ अभियान अन्तर्गत नृत्य प्रतियोगिताको नाममा रकम असुली गरेको समाचार प्रकाशित भएपछि प्रशासनले छानविन अगाडि बढाएको हो । प्रतियोगिता आयोजक श्रीनाथ फिल्म एण्ड प्रोडक्सन हाउस प्रालिमाथि जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको छ । नृत्य प्रतियोगिताको नाममा रकम अशुली गर्दै ठगी गरेको देखिएपछि प्रशासनले छानविन प्रक्रिया अगाडि बढाएको हो । प्रतियोगिताको नाममा टिकट बेच्ने प्रतिस्पर्धा गराइएको समाचार बुधवार साझा बिसौनीमा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि बुधवार नै जिल्ला प्रशासन कार्यालयले श्रीनाथ प्रोडक्सनलाई तत्काल टिकट बिक्री रोक्न आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले छानविन प्रक्रिया चलिरहेको भन्दै तत्काल टिकट बिक्री रोक्न आदेश दिइसकेको जानकारी दिए । उनले भने, ‘हामीसँग अनुमति नलिएर कार्यक्रम सञ्चालन गरिएको छ, कसैले पनि बहाना बनाएर रकम अशुल्न पाउँदैन ।’ आफूहरूले तत्काल टिकट बिक्रीको काम रोक्न निर्देशन दिइसकेको र सबै कागजातसहित शुक्रवार प्रशासनमा उपस्थित हुन निर्देशन दिएको उनले जानकारी दिए । उनका अनुसार आज बिहीवार सार्वजनिक बिदा परेकाले भोलि शुक्रवार बोलाइएको हो । ‘प्रतियोगिताको नाममा रकम अशुल्न पाइदैंन, यो काम तत्काल रोकेका छौं’ उनले भने, ‘शुक्रवार नै बाँकी छानविनको काम हुन्छ, त्यसपछि के गर्ने भन्ने हामी निर्णय गर्छौं ।’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आवश्यक छानविन गरेर ठगीको मुद्दा चलाइने बताए । यसबारेमा आफूहरूले सरकारी वकिलसँग पनि राय लिने उनको भनाइ छ । साथै उनले हालसम्म बिक्री भएको रकम र टिकट समेत झिकाइएको बताए । उनका अनुसार आयोजकसँग सबै कागजातसमेत मागिएको छ । कुनै काम गर्दा प्रशासनलाई सूचना दिनुपर्ने भए पनि श्रीनाथ प्रालिले आफूहरूलाई कुनै जानकारी नदिएर काम गरेको प्रशासनको भनाइ छ । पूर्व सूचना विना नै प्रतियोगिता आयोजना गरिएको र टिकट बिक्रीका नाममा सर्वसाधारणबाट रकम असुलिएको पाइएकाले छानविन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । कागजात, टिकट र सङ्कलन भएको रकमको अनुसन्धानपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रजिअ श्रेष्ठले बताए । यता प्रहरीले भने प्रशासनको निर्णयपछि आफूहरूले कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले यो मुद्दा प्रशासनले हेरिरहेकाले प्रशासनको निर्देशन अनुसार आफूहरू अगाडि बढ्ने बताए । यसैबीच नृत्य प्रतियोगिताको नाममा ठगी भइरहेको समाचार प्रकाशित भएसँगै अभिभावकहरूले समेत प्रशासनमा उजुरी दिन थालेका छन् । बुधवार मात्र वीरेन्द्रनगर निवासी शेरबहादुर खड्काले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन् । प्रतियोगिताको नाममा रकम अशुली गरिएको र परिवारमा तनाव उत्पन्न गराइएको भन्दै उनले यसलाई तत्काल रोक्न माग गर्दै उजुरी दिएका हुन् । साथै उनले मानसिक यातना दिने आयोजकबाटै खर्च भएको रकम र क्षतिपूर्तिको माग गरेका छन् । नृत्य प्रतियोगिताको बहानामा अहिले सुर्खेतमा टिकट बेच्ने होडबाजी चलिरहेको छ । प्रतियोगितामा धेरै टिकट बेच्नेले अवार्ड हात पार्ने भनिएपछि प्रतिस्पर्धीहरू रकम सङ्कलनमा जुटेका छन् ।

प्रकाशित मितिः   २३ असार २०७३, बिहीबार ०३:२८