पहिरोमा पुरिँदा आठ जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असार ।
अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर प्यूठानमा ८ जनाको ज्यान गएको छ । सोमवार राती जिल्लाका दुई स्थानमा पहिरो जाँदा उनीहरूको ज्यान गएको हो । राती घरमा सुतिरहेको बेला गाउँमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरूको ज्यान गएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार प्यूठानको दुर्गम गाविस रजवारा–३ मा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरोले स्थानीय दुर्गबहादुर मल्लको घर पुरिएको हो । पहिरोले घर पुरिँदा करिब ४५ वर्षका दुर्गबहादुर मल्ल र उनकी ४० वर्षीया श्रीमती सीताको ज्यान गएको हो । यस्तै मल्लका छोरीहरू १० वर्षीया सुशीला, ७ वर्षकी लेखा र डेढ वर्षकी सिर्जनाको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले मल्लको घर पुरिँदा पाँच जनाको ज्यान गएको भए पनि छिमेकीको घरमा गएका उनका एक छोरा र एक छोरी भने सकुशल रहेको जानकारी दिए । छिमेकीको घरमा गएकाले उनीहरू पहिरोबाट जोगिएको प्रहरीको भनाइ छ । यस्तै रातको समयमा आएको पहिरोकै कारण जिल्लाकै पूँजा गाविसमा पनि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । डीआईजी नेपालका अनुसार पूँजा गाविसमा पनि पहिरोले घर भत्काउँदा तीन जनाको मृत्यु भएको हो । स्थानीय हुमबहादुर सुनार, उनकी श्रीमती र छोरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रातको समय भएकाले तत्काल घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेनन् भने गाउँलेले पनि ढिला मात्र जानकारी पाएका थिए ।

प्रकाशित मितिः   २२ असार २०७३, बुधबार ०६:४४