दशरथपुरमा सार्वजनिक सुनुवाइ
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असार ।
दशरथपुर गाउँ विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलवार सम्पन्न भएको छ । गाउँविकास समितिको आयोजना, साझेदारी विकास परियोजना (स्याक नेपाल) र गो गो फाउण्डेशनको सहकार्यमा गाउँ विकास समितिले दिने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाविस सचिव तिलकराम आचार्य, जीवनज्योति उमाविका प्रचार्य लोकबहादुर खत्री, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर धर्मराज रेग्मी, कृषि अनुसन्धान केन्द्र नार्कका प्राविधिक सहायक सुमनबाबु कँडेल, प्रहरीचौकी रामघाटका कर्णजंग शाही प्रमुख जवाफदेही वक्ताका रूपमा रहेका थिए । त्यसैगरी नेपाली कांग्रेसका रेशम चालिसे, नेकपा एमालेका मुक्तिप्रसाद तिवारी, नेकपा माओवादी केन्द्रका जंगबहादुर खत्री, राप्रपा नेपालका तिलक कँडेल, नेकपा माओवादीका खड्क जिसी लगायतका पार्टी प्रतिनिधिहरू र गाविसस्थित विभिन्न सञ्जालका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेवाग्राहीहरूले पहिलेको तुलनामा गाविसले प्रदान गर्ने सेवा सुविधा चुस्त दुरुस्त बन्दै गएको बताउँदै आगामी दिनमा पनि सहज रूपमा सेवा प्रदानको वातावरण तय गनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी जवाफदेही वक्ताहरूले पहिलेको तुलनामा नागरिकहरू पनि सचेत हुँदै गएकाले गाविसले दिने सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत गरेको दाबी गरे ।
साझा बिसौनी संवाददाता ।