नमुना बन्दै आफर गाउँ
सुर्खेत : वीरेन्द्रनगर–१३ मा रहेको आफर गाउँलाई नमूना गाउँको रूपमा विकास गरिने भएको छ । यसका लागि र्ययोजना समेत बनाइएको छ । कर्णाली प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र–एक नमुना गाउँ’ बनाउने योजना अन्तर्गत आफर नमूना गाउँ बनाउन लागिएको हो । सुर्खेतको पहिलो नमुना गाउँको रूपमा घोषणा गरिएको ‘आफर नमुना गाउँ’को विकासका लागि कार्ययोजना निर्माण गरिएको हो ।
६० वटा घर रहेको आफर गाउँको सञ्चालक समितिले आगामी कार्ययोजना सार्वजनिक गरेको हो । जसअन्तर्गत अहिले १६ घरमा सञ्चालित होमस्टे ६० घरमा विस्तार गर्ने, १५ घरमा व्यावसायिक बाख्रा पालन गर्ने, पाँच घरमा व्यावसायिक भैंसीपालन, तीन घरमा लोकल कुखुरा पालन, १५ घरमा अर्गानिक तरकारी खेती गर्ने योजना समावेश गरिएको छ । यस्तै च्याउ खेती, तरकारी संकलन केन्द्र, दूध संकलन केन्द्र, फूल खेती, कोशेली गृह, माछापालन लगायतका व्यावसायिक र उदाहरणीय कार्य गर्ने योजना समितिले ल्याएको हो ।
यसैबीच एउटा प्रदेशसभा निर्वाचन क्षेत्रको एउटा गाउँलाई नमुनाको रूपमा घोषणा गर्ने गरी योजना बनाएको प्रदेश सरकार अहिले गाउँहरूको अवलोकनमा जुटेको छ । सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बिहीवार आफर गाउँको अवलोकन गरेकी छिन् । अवलोकनमा सहभागी प्रदेशसभा सदस्य पद्मा खड्काले सबै मिलेर समृद्ध र नमुना गाउँ बनाउनुपर्नेमा जोड दिइन् ।
प्रकाशित मितिः २७ भाद्र २०७६, शुक्रबार ११:५९
साझा बिसौनी ।