नेपाल उपविजेतामै सीमित

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको ३३ वर्षे इतिहासमा आठौं पटक फाइनल खेल्दा पनि नेपाली टोली उपविजेतामै सीमित रहेको छ । बिहीवारमात्रै किर्गिस्तानले आयोजना गरेको नादेझ्दा कपको फाइनलमा पुनः एक पटक असफल भएपछि नेपाली टोली आठौंपटक उपाधि जित्न चुकेको हो ।

नेपाल उज्बेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भयो । ३३औं मिनेट पेनाल्टी क्षेत्रभित्रबाट उज्बेकिस्तानका खेलाडीले गोल गरेका थिए । ५५औं मिनेटमा नेपाली डिफेन्डरहरूलाई छक्काउँदै उज्बेकिस्तान खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट दोस्रो गोल गरेका थिए । यस्त ६४औं मिनेटमा डी बक्सबाहिरबाट किर्गिस्तानका खेलाडीले तेस्रो गोल गरेका थिए । त्यसको ५ मिनेट नबित्दै सावित्रा भण्डारीले नेपालका लागि एक गोल फर्काइन् । सरु लिम्बुले मैदानको मध्यभागबाट बल अघि बढाउँदै डी बक्सभित्र सावित्रालाई पास दिएकी थिइन् । सावित्राले वान भर्सेस वानमा पहिलो टचमै एक गोल गरिन् । खेलको अन्तिम मिनेटमा डी बक्सभित्र उज्बेकिस्तानका खेलाडीले ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै नेपालको हारअन्तर ३–२ मा घटाएकी हुन् ।

नेपालले आगामी मंसिरमा हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारी स्वरूप चार देश सहभागी नादेझ्दा कप खेलेको हो । नेपाल समूह चरणमा नेपालले २ जीत र १ हारको नतिजासहित फाइनलमा स्थान बनाएको थियो । पहिलो खेलमा नेपालले किर्गिजस्तान ८–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० को हार बेर्होयो । यस्तै अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले हराउँदै नेपाल उपाधिका लागि भिड्न पुगेको हो । नेपालभन्दा ५८ स्थानमाथिको उज्बेकिस्तानले लिगमा शतप्रतिशत जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । उज्वेकले ताजकिस्तानलाई १२–०, नेपाललाई २–० र किर्गिस्तानलाई ९–० ले हराएको थियो ।

प्रकाशित मितिः   २७ भाद्र २०७६, शुक्रबार ११:५७