बेवारिसे चौपाया व्यवस्थापन गर्न कार्यदल

सुर्खेत : कर्णालीमा रहेका बेवारिसे पशुको व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाईमा बुधवार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षीय छलफलपश्चात सात सदस्यीय कार्यदल गठन
गरिएको हो ।

पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. टंकप्रसाद प्रसाईंको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपन्छी शाखाका प्रमुखमध्ये वीरेन्द्रनगर नगरपालिकाको प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए । सचिव भारीका अनुसार सदस्यमा पशुपन्छी व्यवसायीमध्येबाट एक जना, कानुन व्यवसायी एक जना र वन उपभोक्ता महासंघ सुर्खेतका प्रतिनिधि रहेका छन् ।

सुर्खेत लगायत प्रदेशका अन्य ठाउँमा बेवारिसे रूपमा छोडिएका पशुहरूको दीर्घकालीन व्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । मन्त्री केसीका अनुसार कार्यदलले गठन भएको १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई पेश गने समय दिइएको छ । कार्यदलको प्रतिवेदन पछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री केसीको भनाइ छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७६, बिहीबार १२:३८