वाणिज्यको अर्को शाखा तिहारलगत्तै

सुर्खेत : राष्ट्रिय वाणिज्य बैंकले वीरेन्द्रनगर शाखा स्थापना गर्ने भएको छ । सेवाग्राहीको बढ्दो चापका कारण तिहार लगत्तै वीरेन्द्रचौकनजिकै बैंकले नयाँ शाखा स्थापना गर्न लागेको हो । शाखा स्थापनाका गर्न घर सम्झौता भइसकेकाले बाँकी काम सुरु हुने प्रक्रियामा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा सुर्खेतका निमित्त शाखा प्रबन्धक विष्णु गौतमले जानकारी दिए । उनले दशैं–तिहारको बीचमा स्थापना गर्ने लक्ष्य रहे पनि ठूला चाडपर्वका कारण तिहारलगत्तै सञ्चालन गरिने बताए । ‘वीरेन्द्रनगर शाखा स्थापना भए हालको वाणिज्य बैंकमा चाप कम हुने अपेक्षा लिएका छौं’ गौतमले भने, ‘थप भएको शाखाले सेवा छरितो र प्रभावकारी हुने विश्वास छ ।’

गौतमका अनुसार जुम्लारोडमा रहेको वाणिज्य बैंकमा दुई वटा एटीएम मेसिनबाट सेवा दिने तयारी गरेको छ । ‘पूरानो एटीएमको सफ्टवेयर बिग्रिदा अहिले सेवा रोकिएको होे’ गौतमले थपे, ‘केही दिनमा पुरानो एटीएम सञ्चालन आउने र एक साताभित्रै नयाँ एटीएमबाट पनि सेवा सुरु गर्न लागेका छौं ।’ एटीएम बिग्रिदा बाहिरबाटै प्राविधिक कर्मचारी बोलाउनु पर्ने भएकाले मर्मतमा ढिलाइ भएको गौतमको भनाइ छ ।

बैंकले वीरेन्द्रनगर नगरपालिकामा राजस्व काउण्टर समेत सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले कोठा दिए लगत्तै सेवा सुरु गर्ने गौतमले बताए । वाणिज्य बैंक सुर्खेतमा ५० हजार बचत, झण्डै १२ हजार चल्ती र एक हजारको हाराहारीमा कर्जा खाता रहेका छन् ।

प्रकाशित मितिः   २६ भाद्र २०७६, बिहीबार १२:३६