‘लगानीको वातावरण बनाउँछाै‌’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबै खालका कानुनी जटिलताको समाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधवार काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसँग समन्वय गर्दै सबै खालका कानुनी तथा संवैधानिक जटिलताको समाधान गर्ने बताएका हुन् ।

कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै मुख्यमन्त्री शाहीले ढुक्कका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे । मुनाफा र लगानी सुरक्षाको ग्यारेण्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा निजी क्षेत्रको लगानी भित्रिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

अधिकांश हिमाली क्षेत्र, सबैभन्दा लामो कर्णाली नदी, रारा, से–फोक्सुण्डो तथा मनमोहक जंगली पाटनसहितको कर्णाली प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहेको उनको जिकिर थियो । धार्मिक पर्यटनको विकासमा पनि राम्रो सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले पूर्वाधार विकासमा पनि निजी क्षेत्रको लगानी आवश्यक रहेको औंल्याए । कर्णाली र भेरी करिडोरमा द्रूतमार्ग, सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत उत्पादन तथा चार सय केभीको विद्युत प्रसारणलाइन विस्तारमा पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका ठूला–ठूला चरणक्षेत्र उपयोग गरी मासुजन्य तथा दुग्धजन्य पशुपालन, माछापालन, औषधीय गुणसहितको अर्गानिक अन्न तथा फलफूल उत्पादका क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्ने धारणा राखे । बहुमूल्य यार्सा लगायतका जडिबुटीको भण्डारका रूपमा रहेको कर्णालीमा जडिबुटी प्रशोधन उद्योग, ग्यास तथा धातुजन्य खनिज उद्योग, सिमेन्ट उद्योगका क्षेत्रमा पनि लगानी गर्न सकिने उनको भनाइ छ । निजी क्षेत्रको लगानीविना विकास र समृद्धिको लक्ष्य हासिल गर्न असम्भव रहेको भन्दै मुख्यमन्त्री शाहीले तीव्र विकाससहित समृद्धि हाँसिल गर्ने प्रदेश सरकारको अभियानमा हातेमालो गर्न निजी क्षेत्रलाई आह्वान गरे ।

प्रकाशित मितिः   २६ भाद्र २०७६, बिहीबार १२:३४