‘निजी क्षेत्रसँग सहकार्य गर्छु’

सुर्खेत : भर्खरै मात्र सरुवा भएर सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । आफूले निजीक्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार गरेको स्वागत कार्यक्रममा प्रजिअ अधिकारीले शान्ति सुरक्षा र सुशासनमा निजी क्षेत्रको भूमिका पनि उत्तिकै हुने भन्दै सबैबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । आपूmले जिल्लाको शान्ति सु–व्यवस्था, सुशासन, विकास निर्माणमा सहजीकरणका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्ने जानकारी समेत दिए ।
‘अहिले सर्वपक्षीय रूपमा भेटघाट र छलफल गरी सूचना र सुझाव संकलनको काम भइरहेको छ’ प्रजिअ अधिकारीले भने, ‘सोही अनुसारको रणनीतिक कार्ययोजना बनाएर कार्यान्वयन गरिन्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले व्यवसायीबाट अञ्जानमा हुने सानातिना त्रुटिहरूलार्ई अतिरञ्जित गरी व्यवसाय नै धरासायी बनाउने काम भएको भन्दै असन्तुष्टि जनाएका थिए । बजार अनुगमनका बेला कुनै गल्ती भेटिए कानून बमोजिम सजाय गर्नुपर्ने कर्मचारीले नै व्यवसाय चौपट र लगानी डुब्ने गरी मिडियाबाजी गरिदिँदा आफूहरू मर्कामा परेको उनको भनाइ थियो ।

संघका अध्यक्ष धनबहादुर रावतले व्यवसायीहरूको व्यक्तिगत तथा व्यवसायिक सुरक्षाका लागि संघले विगतदेखि नै स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा निरन्तर रहने बताए । बजारमा सीसी क्यामेरा जोड्ने लगायतका अन्य कार्यले निजी क्षेत्र र सरकारी क्षेत्रबीचको सहकार्यलाई उचाइमा पु¥याएको बताउँदै उनले साझा समस्याबारे आपसी समझदारीमा समाधान खोजिनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   २६ भाद्र २०७६, बिहीबार १२:३३