लाटीकोइलीमा अस्थायी प्रहरी बिट

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ९ लाटीकोइलीमा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । बुधवार उक्त प्रहरी बिटको उद्घाटन गरिएको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरको पर्यटकीय वडामा सुरक्षाका लागि प्रहरी बिट स्थापना हुनु महŒवपूर्ण कार्य भएको बताए । उनले नगरका १६ वटा वडा भन्दा ९ नं. वडा फरक रहेको र लाटीकोइलीको तल्लो क्षेत्र बामेखोलालाई आधार बनाएर सुरक्षाका नयाँ रणनीतिका लागि जिल्ला सुरक्षा समितिमा प्रक्रिया अघि बढेको समेत जानकारी दिए ।

त्यस्तै कार्यक्रममा नगर उप–प्रमुख मोहनमाया ढकालले वडामा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र काँक्रेविहारलाई सार्थक बनाउनका लागि सबै नगरबासीले सोच्नुपर्ने र सुरक्षित बनाउनका लागि सबै लाग्नुपर्ने धारणा राखिन् । स्थानीय समाजसेवी डम्मरविक्रम जिसीले प्रहरी विटको स्थापनाले काँक्रेविहारको पर्यटकीय सुरक्षा बलियो हुँदै आपराधिक गतिविधिमा कमी आउने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसन्त रजौरेले नगरको ९ नं. वडामा अस्थायी प्रहरी बिट राख्न सफल भएको बताउँदै अब यहाँका बासिन्दाहरूले स्थायी प्रहरी बिट स्थापना गर्नका लागि वातावरण बनाइ माग गर्नुपर्ने र प्रहरी हरदम सुरक्षा दिन तयार रहेको बताए । कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष सुरेश मानन्धरले अस्थायी प्रहरी बिटले वडाको पूरै क्षेत्र समेटेर सुरक्षा गर्नका लागि अहिलेका लागि प्रहरी हवल्दारको कमाण्डमा पाँच जना प्रहरी बिटमा रहने जानकारी दिँदै अब काँक्रेविहारमा सुरक्षा व्यवस्था राम्रो हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २६ भाद्र २०७६, बिहीबार १२:३१