सुर्खेत विमानस्थल विस्तारको तयारी
सुर्खेत : वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार गर्ने तयारी गरिएको छ । विमानस्थल साँघुरो भएपछि यसको विस्तार गर्ने योजना अघि सारिएको हो । विमानस्थल विस्तारका लागि अध्ययन गर्न एक उच्चस्तरीय प्राविधिक टोली सुर्खेत आउँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाउन लागेको उक्त टोलीले गर्ने अध्ययनपश्चात थप काम अघि बढ्ने सुर्खेत नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख विनोद पन्तले अबको दुई हप्ताभित्रमा प्राविधिक टोली अध्ययनका लागि सुर्खेत आउने जानकारी दिए ।
विमानस्थल विस्तार गर्ने योजना तय भए पनि कतातर्फ गर्ने भन्ने कुराको भने टुङ्गो लागेको छैन । विमानस्थलको माथिल्लो क्षेत्र वा रत्नराजमार्गभन्दा तल्लो क्षेत्रतर्फ विस्तार गर्ने भन्ने एकिन नभएको प्रमुख पन्तले जनाए । यसअघि नै सुर्खेत उपत्यकाको गुरुयोजना विपरित धावनमार्ग निर्माण गरिएकाले पनि अहिले समस्या आएको छ । विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण दिशामा छ । गुरुयोजना अनुसार यो धावनमार्ग पूर्व–पश्चिम बनाइनुपथ्र्यो । विमानस्थलको उत्तरतर्फ विद्यालयसहित बस्ती छ भने दक्षिणतर्फ राजमार्गसहित बस्ती रहेको छ । जसले गर्दा विस्तारका लागि पनि समस्या निम्तिने देखिएको छ । यद्यपि अध्ययनपछि आवश्यकता अनुसार जग्गा अधिग्रहण गरेर भए पनि विमानस्थल स्तरोन्नति गर्ने योजना बनाइएको पन्तले जानकारी दिए । विमानस्थल विस्तार गर्नुपर्नेतर्फको जग्गामा भएका बस्तीहरूलाई सरकारले मुआब्जा दिएर भए पनि काम गर्ने उनले बताए । तर कति बस्ती उठाउनु पर्छ त्यसको रिपोर्ट आएपछि संघ तथा प्रदेश सरकारको समन्वयमा मुआब्जाको विषय टुंगिनेछ ।
एक हजार दुई सय ५५ मिटरको दूरीमा रहेको सुर्खेत विमानस्थललाई तत्काल करिब एक हजार ६ सय मिटरको दूरीमा विस्तार गर्ने तयारी गरिएको हो । पन्तले विमानस्थल कतातिर विस्तार गर्ने भन्ने विषयमा भने प्राविधिक टोलीको रिपोर्ट पछि मात्रै जानकारी हुने बताएका छन् । ‘साँघुरो विमानस्थलका कारण उडान भर्न समस्या भएपछि विस्तारको लागि पहल भएको हो’ उनले भने ‘अहिलेलाई थप तीन सय मिटरभन्दा बढी विस्तारको योजना बनेको छ । तर पनि अझै विमानस्थलको दूरी एकिन भने भइसकेको छैन ।’
साँघुरो विमानस्थलका कारण सुर्खेतमा धेरै क्षमताका ठूला जहाजहरू अवतरण गर्न सकेका छैनन् । जसका कारण सर्वसाधारणहरू महँगो भाडादर तिर्न बाध्य भएका छन् । अधिकांश नागरिकहरू सुर्खेतको हवाई भाडा महङ्गो भएका कारण नेपालगन्जबाट उडान भर्ने गर्दछन् । भनेको समयमा उडान नपाइने र महङ्गो भाडादर तिरेर यात्रा गर्नुपर्ने कर्णालीका नागरिकहरूको बाध्यता भने सुर्खेत विमानस्थल विस्तारपछि हट्ने अपेक्षा गरिएको छ ।
सुर्खेत विमानस्थलको स्तरोन्नति गर्न कर्णाली प्रदेश सरकारले पनि पहल गरिरहेको छ । काठमाडौं पुगेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई समेत भेटेर सुर्खेत विमानस्थल विस्तारलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । प्रदेश सरकारकै आग्रहमा मन्त्रालयले उच्चस्तरीय प्राविधिक टोली सुर्खेत पठाउन लागेको हो मुख्यमन्त्रीसँगै रहेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले जानकारी दिए । ‘मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमानस्थल विस्तारको आवश्यकता मन्त्रीज्यूलाई जानकारी दिनुभएको थियो’ उनले भने ‘सोही बसाइँपछि मन्त्रालयले अध्ययन गर्न प्राविधिक टोली सुर्खेत पठाउने भएको हो ।’ सुर्खेत विमानस्थल विस्तारका लागि संघीय सरकार समेत सकारात्मक भएको सांसद रेग्मीले बताए । विमानस्थल विस्तारपछि कर्णालीका नागरिकलाई हवाई उडानमा कुनै समस्या नआउने समेत उनले दावी गरेका छन् । सुर्खेत विमानस्थलको विकल्पमा छिन्चुको मदानेचौरमा क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजना अघि सारिए पनि तत्काल उक्त आयोजना निर्माण नहुने भएपछि यही विमानस्थल विस्तार गर्न लागिएको हो । मदानेचौरमा सम्भाव्यता अध्ययन समेत भइसकेको छ । सुर्खेत विमानस्थल विस्तारबारे अध्ययन गर्न आउने टोलीले मदानेचौरको विषयमा समेत थप अध्ययन गर्ने जनाइएको छ । विमानस्थलका लागि आवश्यक पर्नेभन्दा बढी क्षेत्रफल रहेको उक्त स्थानलाई नै सुर्खेत विमानस्थलको विकल्पको रूपमा हेरिएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत समेत उक्त विमानस्थल निर्माण गर्ने योजना सार्वजनिक गरेपछि चर्चा थप चुलिएको थियो । तर निर्माणको टुङ्गो भने लागिसकेको छैन ।
प्रकाशित मितिः २६ भाद्र २०७६, बिहीबार १२:२८
साझा बिसौनी ।