तीन दिनसम्म वर्षात्को सम्भावना
काठमाडौं : मनसुनी न्यून चापीय वायुको प्रभावले अझै केही दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको
छ । मनसुनी न्यूनचापीय रेखा औषत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
उक्त न्यून चापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय रहने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार र सोमवार पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ‘सोमवारदेखि मनसुन अझै सक्रिय हुँदै जानेछ’, मौसमविद् बासीले भनिन् । हाल देशभरी आंशिकदेखि सामान्य बदली भइ पश्चिमी भू–भागका केही स्थानमा साथै पूर्वी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
राती देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवार देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशभरी आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मितिः २२ भाद्र २०७६, आईतवार १२:१९
साझा बिसौनी ।