नेपालले टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने

काठमाडौं : ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको छ । नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताए ।

शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिंगापुरले टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो । नेपाल र जिम्बावे छनोटबाट वञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ । नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ ।

सिंगापुरमा नेपालले असोज १० गते जिम्बावेसँग, असोज ११ सिंगापुरसँग असोज १४ गते पुनः जिम्बावेसँग र असोज १५ गते सिंगापुरसँग खेल्ने छ । ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आइसिसी टी–२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो ।
विश्वकप छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो । विश्व वरियताको ११औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो । ओमानमा हुने प्रतियोगितामा नेपालले असोज १९ गते हङकङ, असोज २० गते नेदरल्यान्ड्स, असोज २२ गते आयरल्यान्ड र असोज २३ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।