खानेपानीका कर्मचारी आन्दोलित
सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै श्रमिक ट्रेड युनियनको आयोजनामा कर्मचारी आन्दोलित भएका हुन् । युनियनका अनुसार भदौ २२ गतेदेखि माग पूरा नहुन्जेलसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ । अनिश्चितकालका लागि कार्यालय बन्द गरी खानेपानी वितरणबाहेकका कुनै पनि कार्यहरू सञ्चालन नगर्ने, कार्यालयमा उपस्थित भएर कार्यालय प्रमुखविरुद्ध नाराबाजी गर्ने, आगामी असोज १० गतेसम्म पनि माग पूरा नभए सम्पूर्ण सेवा बन्दी गरी कार्यालय परिसरमा रिले अनशन बस्ने लगायतका आन्दोलनका कार्यक्रम युनियनले सार्वजनिक गरेको छ ।
युनियनले कार्यालय प्रमुख डम्मर गौतमलाई कारवाही गर्नुपर्ने माग गर्दै आएको छ । प्रमुख गौतमले श्रमिक कर्मचारीहरूको हितविपरित कार्य गरेको र उनीहरूको वृत्तिविकासमा अवरोध सिर्जना गरेको आरोप युनियनको छ । साथै कर्मचारीहरूको व्यवस्थापनका विषयमा उठाइएका जायज माग तत्काल पूरा गर्न समेत माग गरिएको छ ।
प्रकाशित मितिः २२ भाद्र २०७६, आईतवार १२:१५
साझा बिसौनी ।