रारामा पर्यटन प्रवर्द्धन गर्न बजेट

मुगु : कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम खर्च गर्न लागिएको छ । रारालाई लक्षित गरी स्थानीय, प्रदेश र संघीय सरकारले समेत छुट्टाछुट्टै बजेट विनियोजन गरेका छन् । यसले गर्दा यस वर्ष रारा लक्षित बजेट बढ्ने भएको हो ।

नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा रारालाई लक्षित गरी बजेट बढाइएको हो । स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्ना तर्फबाट पूर्वाधार विकासमा बजेट विनियोजन गरेका छन् । संघीय सरकारले रारामा बृहत् पर्यटकीय सूचना केन्द्र निर्माणको लागि ६० लाख रूपैयाँ छुट्याएको छ ।

त्यस्तै, ताल वरीपरी मचान बनाउन ८० लाख रूपैयाँ विनियोजन गरिएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । प्रदेश सरकारले ताल वरीपरी साइकलमार्ग बनाउने योजना बनाएको छ । यसको लागि पाँच करोड रूपैयाँ विनियोजनको तयारी भइरहेको मुगुका प्रदेशसभा सदस्य दानसिंह परियारले बताए । ‘हामीले कर्णालीमा भ्रमण वर्षलाई सफल पार्न राराको पूर्वाधार विकासमा जोड दिनुपर्छ भनेर बजेट मागेका छौं,’ उनले भने, ‘यसमा सरकार पनि सकारात्मक छ, रारामा साइकलमार्ग प्रदेश सरकारको पनि योजना भएकाले काम हुन्छ होला ।’

विगतमा पर्यटन बोर्डमार्फत राराको लागि निकै न्यून बजेट आउँथ्यो । यसले गर्दा काम प्रभावकारी रूपमा देखिँदैनथ्यो । अहिले भने योजनासहित ठूलो बजेट विनियोजित गरिएपछि स्थानीयमा आशा जागेको छ । नेपाल भ्रमण वर्ष २०२० कर्णाली प्रदेशस्तरीय पर्यटन समिति संयोजक राजु कार्की बजेटको सही सदुपयोग भए राराको विकासमा यो वर्ष कोशेढुङ्गा सावित हुने बताउँछन् । संघीय सरकारले सडक सुधारमा मात्र ५० करोड विनियोजन गरेको छ । रारा पुग्ने प्रमुख सडक नाग्म–गमगढी सडक स्तरोन्नतिका लागि उक्त बजेट छुट्याइएको हो । उक्त बजेटबाट नाग्मदेखि गमगढीसम्म सडक डबल कटिङ गरी हिलोमा गिट्टी बिछ्याइँ ग्राबेल गर्ने लक्ष्य राखिएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर श्रवणकुमार महताराले बताए । ‘यो वर्ष ग्राबेलको काम सकिएपछि आगामी वर्ष कालोपत्रे गरिनेछ’ उनले भने, ‘यत्ति काम भयो भने रारामा घुम्न आउने पर्यटकलाई निकै सुविधा हुने अपेक्षा गर्न सकिन्छ ।’ कर्णाली प्रदेश सरकारले ताल्चा र लामाचौरमा होमस्टे निर्माण थालेको छ । यसको लागि ५० लाख रूपैयाँ दिइएको छ । स्थानीय सरोकारवालाले यस वर्ष राराको पूर्वाधार विकासको लागि पर्याप्त बजेट आए पनि सदुपयोग हुनेमा चुनौती औंल्याएका छन् । निकुञ्जका संरक्षण अधिकृत भण्डारीले पर्यटन वर्षकै कारण विभिन्न क्षेत्रबाट बजेट आएको बताए ।

त्यस्तै जिल्ला नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्लले विगतमा पनि राराको लागि बजेट आउने, तर उपलब्धि नदेखिने समस्या रहेको बताउँदै यस वर्ष देखिने गरी काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

प्रकाशित मितिः   २२ भाद्र २०७६, आईतवार १२:१३