कर्णालीमा लगानी गर्न आह्वान

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । चीनका लागि नेपाली राजदूतावास र नेपाल–चीन आर्थिक तथा वाणिज्य मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो आह्वान गरेका हुन् ।

प्रदेशमा सबैभन्दा धेरै गरिबी, शिक्षा, स्वास्थ्यमा सर्वसुलभताको अभाव भए पनि लगानी गर्नका लागि प्राकृतिक स्रोत र साधन उल्लेख्य मात्रामा रहेको भन्दै लगानीकर्ताका लागि सुरक्षित गन्तव्य रहेको उनको दावी छ । साथै उनले कर्णालीमा लगानी गर्ने प्रचूर क्षेत्रहरू रहेको भन्दै त्यसको उपयोगका लागि प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्न लागेको पनि बताए । आफ्नो प्रदेशमा लगानी गर्नेलाई १० वर्षसम्म कर छुट गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको र त्यसका लागि केन्द्रीय सरकारलाई पनि प्रस्ताव पठाएको जानकारी उनले दिए ।

रारा ताल, अग्ला हिमश्रृंखला लगायत पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको रूपमा कर्णाली प्रदेश रहेको भन्दै होटल, रिसोर्ट तथा ट्रेकिङ्ग व्यवसायको सम्भावना रहेकोले ती क्षेत्रहरूमा लगानी गर्न आग्रह गरे । उनले प्राकृतिक सम्पदाको उपभोग हुने गरी जडिबुटी प्रशोधन, जलविद्युत आयोजनाहरू निर्माणका लागि चिनियाँ लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरे । शाहीले लगानीकर्ताहरूको लगानी सुरक्षा र मुनाफाको वातावरण तयार गर्न प्रदेश सरकार गम्भीर रूपमा लागेको बताए ।

कर्णालीमा लगानीका प्रशस्त सम्भावना रहेको र प्रदेश सरकारले सम्भाव्य क्षेत्रहरूको परियोजना बैंक तथा प्राथमिकता निर्धारण गरेको जानकारी दिए । कर्णालीमा २५ हजार मेगावाट विद्युत उत्पादन, बहुमूल्य यार्सा लगायतका जडिबुटी, पर्यटन, बहुमूल्य रत्नपत्थर, ग्यास तथा खनिज लगायतका क्षेत्रमा लगानी गरेर लाभ लिन सकिने मुख्यमन्त्री शाहीको भनाइ थियो ।

कर्णाली करिडोरमा सडक पूर्वाधारको विकाससँगै कर्णाली करिडोर हुँदै मानसरोवरसम्म धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको उनको भनाइ छ । यस्तै कर्णालीको राजधानी सुर्खेतमा पाँच तारे होटेल, प्रमुख पर्यटकीय स्थल रारा, से–फोक्सुण्डोमा स्तरीय होटेल सञ्चालनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री शाहीले होटेल व्यवसायमा समेत लगानी गर्न
आग्रह गरे ।

अर्गानिक कृषिको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउँदै मुख्यमन्त्री शाहीले अर्गानिक मल कारखानामा पनि लगानीको आवश्यकता रहेको तर्फ लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरमा सडक पूर्वाधारको विकास, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल, जडिबुटी प्रशोधन उद्योग, औषधि उत्पादन उद्योग, रत्नपत्थर तथा मार्बल उद्योग, सिमेन्ट उद्योगका क्षेत्रमा पनि लगानी आवश्यक भएको जिकिर गरे ।

प्रकाशित मितिः   २२ भाद्र २०७६, आईतवार १२:१०