प्रहरी निरीक्षकसहित दुई जना पक्राउ
सुर्खेत : सुर्खेतमा चौपाया (गाई–गोरु) मृत भेटिएको घटनाको अनुसन्धानका लागि थप दुई जना पक्राउ परेका छन् । नेपालगन्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक सन्तृतसिंह श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
गत शुक्रवार नेपालगन्ज उप– महानगरपालिकाले काञ्जीहाउसबाट दैलेख लैजान भनेर ल्याएका गाई–गोरु सुर्खेतमा मृत भेटिएका थिए । सुर्खेतका विभिन्न जंगलमा अलपत्र छोडिएका चौपायामध्ये ३६ वटा मृत भेटिएपछि उक्त घटनाबारे छानविन भइरहेको छ ।
सोही घटनाबारे छानविन गर्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरीले यस प्रकरणमा ट्रक चालकसहित ७ जनालाई यस अघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गाई–गोरु मृत भेटिए पनि उनीहरूको हत्या गरिएको हो या आफै मरेका हुन् भन्ने एकिन भएको छैन । यसबारे संघीय सरकार र कर्णाली प्रदेश सरकारले समेत छुट्टाछुट्टै छानविन समिति गठन गरेका छन् ।
प्रकाशित मितिः २१ भाद्र २०७६, शनिबार १२:५६
साझा बिसौनी ।