चुनौती बन्दै बेवारिसे चौपाया

नयाँ जन्मिने गाई–गोरुको जन्मदर्ता गर्ने तयारी

सुर्खेत : वीरेन्द्रनगरको यरीचौकमा बुधवार साँझ सडकमा हिँडिरहेको गाईसँग मोटरसाइकल ठोक्किएर दुर्घटना भयो । जसमा गाईको घटनास्थलमै मृत्यु भयो भने मोटरसाइकल चालक घाइते हुन पुगे ।

त्यसको भोलिपल्टै बिहीवार पनि वीरेन्द्रनगरमा त्यस्तै अर्को दुर्घटना भयो । उक्त दुर्घटनामा पनि गाईको मृत्यु भयो, मोटरसाइकल चालक घाइते भए ।

यस्ता घटना वीरेन्द्रनगरमा विभिन्न समयमा भइरहन्छन् । सडकमा छोडिएका बेवारिसे चौपायाका कारण दुर्घटनाको जोखिम मात्रै बढेको छैन चौपाया व्यवस्थापन नगरपालिकाको टाउको दुखाईको विषय पनि बनेको छ । पछिल्लो समय सडकमा छाडा चौपाया यत्रतत्र छरिएको देख्न सकिन्छ । यातायातका साधनलाई नै झुक्काउने गरी चौपायाहरूबीच सडकमा देखिन्छन् । वीरेन्द्रनगरको यो समस्या आज मात्रै होइन केही वर्षदेखि नै विकराल समस्याको रूपमा रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले केही वर्षदेखि बेहोर्दै आएको छाडा चौपायाको समस्यालाई नेपालगन्ज उपमहानगरपालिकाले समेत थप बढाइदिएको छ । भदौ १२ गते राती सयौंको संख्यामा नेपालगन्जबाट ल्याइएका चौपाया सुर्खेतमा अलपत्र छाडिएपछि वीरेन्द्रनगरमा बेवारिसे चौपायाको संख्या झन् बढेको हो । सुर्खेतमा छाडिएकामध्ये केही गाई–गोरु नेपालगन्ज फिर्ता पठाइए पनि अझै ठूलो संख्यामा सुर्खेतमा नै रहेका छन् । त्यसमध्ये केही कटकुवा लगायतका जंगलमा अलपत्र परेका छन् भने केही बजार पसेका छन् ।

बेवारिसे चौपाया व्यवस्थापनका लागि दीर्घकालीन उपाय नगरपालिकासँग छैन । विगतमा पनि अन्य जिल्लाका केही स्थानीय तहमा पठाउनेदेखि हर्रे र बबई लगायतका क्षेत्रमा लगेर अलपत्र छाड्ने काम हुँदै आएको छ । तर बजार क्षेत्रमा त्यस्ता गाई–गोरुको संख्या भने घटेको छैन ।

अब भने नगरपालिकाले नयाँ जन्मने गाई–गोरुको जन्मदर्ता गर्ने योजना अघि सारेको छ । वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा अधिकृत नारायण पौडेलले वीरेन्द्रनगर तथा वरीपरीका किसानहरूले घरमा पालेको गाई–गोरु काम नआउने भएपछि सडकमा छोड्ने गरेकोले यस्तो समस्या आएको बताए । ‘हामीहरूले गौशाला निर्माण तथा कान्जी हाउसको साथसाथै गाई–गोरुको जन्मदर्ता समेत गर्न जरुरी देखेका छौं’ उनले भने ‘अब वीरेन्द्रनगर नगरपालिकाभित्र वडास्तरमा गाई–गोरुको तथ्यांक संकलन गरी ट्याग लगाउने योजना बनाएका छौं ।’ नयाँ जन्मिने गाई–गोरुको जन्मदर्ता र भएकाको तथ्यांक संकलन गरी कानमा ट्याग लगाएपछि कसको गाईगोरु हो भन्ने पत्ता लाग्ने र मालिकलाई कारबाही समेत गर्न सहज हुने पौडेलको भनाइ छ ।

यो बाहेक वीरेन्द्रनगर नगरपालिकाले जुम्ला, मुगु, हुम्ला लगायतका जिल्लामा व्यवसायी तथा कृषकहरूलाई सुरक्षित तरिकाले स्थानीय तहको समन्वयमा गाईहरू पठाउने गरेको समेत पौडेलले बताएका छन् । उनले हालसम्म स्थानीय व्यवस्थापन तथा बाहिरी जिल्लामा पठाएको गरी चार सय १९ वटा बेवारिसे चौपाया सडकबाट उठाएको बताए । सुर्खेत जिल्लाकै स्थानीय तहहरूमा पठाइएका एक सय ५८ र बाहिरी जिल्लामा दुई सय ६१ वटा गाईगोरुहरू पठाइएको उनले बताए । ‘हामीहरूले गाईगोरु त्यसै पठाएका छैनौँ’ उनले थपे ‘नगरपालिकाका कर्मचारीलाई खटाई पैदल यात्रामा चौपाया बाहिर पठाउने गरेका छौं । अहिलेसम्म वीरेन्द्रनगर नगरपालिकाले बाहिर पठाएका चौपायाको बारेमा कुनै विवाद आएको छैन ।’

वीरेन्द्रनगर नगरपालिकाले सडकका छाडा चौपायाको व्यवस्थापन गरेको बताए पनि सडकका छाडा चौपायाको कारण वीरेन्द्रनगरमा पैदल यात्रुदेखि सवारी चालकले समेत सास्ती बेहोरका छन् । सडकका छाडा चौपायाको कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिं सिजापतिले बताएका छन् । उनले सडक बीचमा यत्रतत्र छरिएका चौपायाको कारण दैनिकजसो सवारी दुर्घटना हुने गरेको बताएका छन् । उता वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले छाडा चौपायाको दिगो व्यवस्थापनको लागि आफूहरू योजना निर्माणमा लागेको बताएकी छन् । ‘वीरेन्द्रनगर नगरपालिका–११ मा गौशाला निर्माणको क्रममा छ’ उनले भनिन् ‘निजी व्यवसायीले बायोग्याँस निर्माणको लागि ६० प्रतिशत लगानी गरेका छन् र केही संघ–संस्थाको ४० प्रतिशत लगानी गरी गौशाला निर्माण हुँदैछ ।’ जसको लागि वीरेन्द्रनगर नगरपालिकाले समन्वयको काम र कुहिने फोहोरको व्यवस्थापन गरेको समेत ढकालले बताएकी छन् । वीरेन्द्रनगर–२ मा रहेको गौशालामा समेत केही चौपाया व्यवस्थापन गरेको उनले जानकारी दिएकी छन् । वीरेन्द्रनगर नगरपालिकाले चौपाया सडकमै नआउने वातावरण निर्माणको योजना बनाउन लागेको ढकालको भनाइ छ ।

प्रकाशित मितिः   २१ भाद्र २०७६, शनिबार १२:५४