लगानी वर्षको लाभ
सुर्खेत मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम हो । यसलाई भावी प्रादेशिक राजधानीको रूपमा समेत हेरिएको छ । यसका अभ्यासहरू समेत सुरु भइसकेका छन् । तर सुर्खेतमा औद्योगिक विकास भने अपेक्षाकृत रूपमा हुन सकेको छैन । यहाँ ठूला उद्योगहरू छैनन् । साना तथा घरेलु उद्योग भने ठूलो संख्यामा रहेका छन् । उद्योग समग्र विकासको पूर्वाधार पनि हो । औद्योगिक विकासविना कुनै पनि जिल्ला वा क्षेत्रको विकास सम्भव छैन । आर्थिक करोकारसँग उद्योगको प्रत्यक्ष सम्बन्ध रहन्छ । सुर्खेतमा ठूला उद्योगको सम्भावना नै नभएको भने होइन । तर यहाँ लगानीको वातावरण बन्न सकेको छैन । जसले गर्दा ठूलो लगानी भित्रिन पाएको छैन । यसै अवस्थालाई मध्यनजर गर्दै सुर्खेत उद्योग वाणिज्य संघले २०७३ साललाई लगानी वर्षको रूपमा मनाउने तयारी गरेको छ । जुन समग्र सुर्खेतको विकासमा स्रहानीय कार्य हुन सक्दछ । सुर्खेत लगानी वर्ष–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । लगानी वर्षको आयोजक सुर्खेत उद्योग वाणिज्य संघले यही असार मसान्तभित्रमा उद्घाटन हुने जानकारी दिएको छ । त्यसका लागि सबै तयारी पूरा भएको संघले जनाएको छ । जिल्लामा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी वर्षको आयोजना गर्न लागिएको हो । लगानी वर्षको क्रममा सुर्खेतमा ६ अर्ब रूपैयाँ लगानी स्वरूप भित्रिने भएको छ ।
सुर्खेतमा लगानीका प्रशस्त सम्भावनाहरू छन् । कृषि, जडिबुटी र जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू यहाँ आउन सक्दछन् । यसको प्रचूर सम्भावना छ । पर्यटन पनि सम्भावनायुक्त उद्योग हो । यसले पनि आर्थिक विकासमा महŒवपूर्ण सघाउ पु¥याउँदछ । कुनै पनि योजना बन्नुभन्दा पनि बनेका योजनालाई कार्यान्वयन गर्नु र सफल बनाउनु प्रमुख कार्य हो । सुर्खेत लगानी वर्ष पनि आफैमा महŒवाकांक्षी र बृहत योजना हो । यसलाई सफल बनाउन अनेक चुनौती सम्मुखमा छन् । लगानी वर्ष घोषणा गर्दैमा लगानी भित्रिने होइन । त्यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सक्नुपर्दछ । लगानीकर्ताहरूलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नु उत्तिकै आवश्यक छ । लगानी वर्ष सफल बनाउनु सुर्खेत उद्योग वाणिज्य संघको मात्र दायित्व पनि होइन । सरकारी तथा निजी क्षेत्रले उत्तिकै सक्रियता जनाउन आवश्यक छ । जिल्लाको विकासमा अब सरकारको मुख ताकेर मात्र बसेर हुँदैन जसले जहाँबाट जति सकिन्छ त्यो काम गर्दै जाने हो भने जिल्लाको समग्र विकासले फड्को मार्न सक्दछ ।
पर्याप्त विकासको सम्भावना हुँदाहुँदै पनि लगानीको अभावका कारण आर्थिक जिल्लाको विकास हुन सकिरहेको छैन । लगानी वर्ष सफल भए सुर्खेतको मात्र नभइ समग्र ६ नम्बर प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । लगानी वर्षले जिल्लामा नयाँ रोजगारी समेत सिर्जना गर्ने अपेक्षा यहाँका नागरिकहरूले गरेका छन् । लगानी वर्षको चर्चासँगै यस क्षेत्रका व्यवसायीहरू पनि उत्साहित बनेका छन् । लगानीको वातावरण नहुँदा थला परेको आर्थिक विकासको गति अब अगाडि बढ्ने उनीहरूको विश्वास रहेको छ । यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जलविद्युतको क्षेत्रमा पनि लगानी आकर्षण गर्नका लागि कार्यक्रमहरू तयार पार्न जरुरी छ । कर्णाली र भेरी करिडोरको सुधार, होमस्टे सञ्चालन, पर्यावरणीय औद्योगिक गाउँ स्थापना र लघुउद्यम विकास ग्रामको अवधारणा अगाडि बढाइएको छ । यसले पनि यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउनेछ । सुर्खेतमा कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी भित्रिने अपेक्षा गरिएको छ ।
साझा बिसौनी संवाददाता ।