डोल्पामा औषधि अभाव

डोल्पा : जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव सिर्जना भएको छ । स्वास्थ्यचौकीमा औषधि नभएपछि बिरामीहरू निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य भएका छन् ।

अधिकांश स्वास्थ्य संस्थाहरूमा सिटामोल समेत नपाइने गरेको स्थानीयहरूको गुनासो छ । ‘पहिला गाउँको स्वास्थ चौकीमै औषधि पाइन्थ्यो अहिले सिटामोल समेत पाइदैन,’ त्रिपुरासुन्दरी नगरपालिका–८ का नर कटुवालले भने । स्वास्थ्यकर्मीले औषधि नभएको भन्दै अन्य मेडिकल जान सुझाव दिएको उनले बताए ।

डोल्पालीलाई जटिल रोग लाग्दा लाखौँ खर्च गरेर जिल्ला बाहिर त जानुपर्ने अवस्था छँदैछ । तर सामान्य रुघाखोकी तथा ज्वरोको औषधि समेत सरकारी स्वास्थ्य चौकीमा पाइन छाडेको स्थानीयहरू बताउँछन् । कटुवाल जस्तै अधिकांश सर्वसाधारहरू स्वास्थ्य संस्था र कर्मचारीप्रति गुनासो गर्छन् । ‘कहिले औषधि हुन्छ स्वास्थ्यकर्मी हुँदैनन्, स्वास्थकर्मी हुन्छन् तर औषधि हुँदैन’ स्थानीय युवा तुलबहादुर बोहोराले भने, ‘सम्पूर्ण डोल्पालीको वास्तविक यथार्थ यही नै हो’ स्थानीय सरकारका रूपमा रहेका नगरपालिका र गाउँपालिकाले गहन रूपमा आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यस्तो स्थिति सिर्जना भएको स्थानीय बताउँछन् ।

स्वास्थ्य संस्थामा औषधि भए नभएको कर्मचारी नियमितता सम्बन्धी स्थानीय सरकारलाई चासो नहुँदा बारम्बार यस्तो समस्या आइराख्ने उनीहरूको भनाइ छ । स्थानीय सरकार गठन भएपछि बजेट छुट्याउने, औषधि खरिद गर्ने जिम्मेवारी स्थानीय तहकै भएको नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताए । उनको बुझाईमा अहिले पनि औषधि खरिदमा जनप्रतिनिधिहरूले ढिलासुस्ती गर्ने गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेपछि डोल्पाका अधिकांश स्वास्थ्यमा चौकीमा औषधि अभाव हुन थालेको हो । स्थानीय सरकार निर्माण भइसकेपछि औषधि किन्ने जिम्मेवारी पनि स्थानीय निकायकोनै रहेको जनस्वास्थ्य अधिकृत रनलाल कुलालले बताए । जिल्लाका आठ वटा स्थानीय तहका २३ वटा स्वास्थ्यचौकीमध्ये अधिकांशमा पटक–पटक औषधि अभाव हुने गरेको छ । तीन भागमा छुट्टिएको डोल्पामा विशेष गरेर उपल्लो डोल्पामा स्वास्थ्य अवस्था अझ नाजुक छ । भौगोलिक रूपमा विकट उपल्लो डोल्पामा स्वास्थ्य चौकीमै बसेर सेवा प्रदान गर्ने कर्मचारी कमै भेटिन्छन् ।

प्रकाशित मितिः   २० भाद्र २०७६, शुक्रबार १२:०४