रारा अल्ट्रा म्याराथन हुने

जुम्ला : पर्यटन प्रवद्र्धन गर्न दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने भएको छ । कर्णालीका धार्मिक तथा पर्यटकीय स्थललाई चिनाइ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जुम्लामा दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको हो । कर्णाली खेलकुद क्लब जुम्लाले पत्रकार सम्मेलन गरी यही भदौ २९ गतेदेखि जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको जानकारी दिएको हो । म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । ‘यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक हो । यो सिरिजको सेमिफाइनलका रूपमा पनि म्याराथनलाई लिइएको छ,’ अध्यक्ष शाहीले भने ।

उनले म्याराथनको आवश्यक तयारी पूरा भएको जानकारी दिए । म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले, चुचेमारा भएर रारातालमा पुगेर समापन हुनेछ । प्रतियोगितामा खुला महिला र पुरुष गरि दुई समूहमा म्याराथन हुने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले बताए ।

बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने उनले बताए । उनका अनुसार दुवै समूहका विजेता धावकमध्ये प्रथमलाई ७५ हजार रूपैयाँ, द्वितीयलाई ५० हजार रूपैयाँ र तृतीयलाई ३० हजार रूपैयाँ प्रदान गरिनेछ । त्यस्तै टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल, सर्टिफिकेट उपलब्ध गराइने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २० भाद्र २०७६, शुक्रबार १२:०६