एमयूको पाठ्यक्रममा कर्णालीका स्याउदेखि फापरसम्म

सुर्खेत : कर्णाली प्रदेशमा उत्पादन हुने स्याउदेखि फापरसम्म अब विश्वविद्यालयमा पढाइको विषय बन्ने भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कर्णालीको माटोमा उत्पादन हुने कृषिवस्तुको अध्यापन गराउने लक्ष्यसहित अर्गानिक कृषि पाठ्यक्रम निर्माण गर्न लागेको छ । उक्त पाठ्यक्रम लागू भएमा यहाँका स्थानीय उत्पादनको चर्चा बजारदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म पुग्ने भएको हो ।

विश्वविद्यालयले अर्गानिक कृषिको पाठ्यक्रम बनाउन तयारी सुरु गरिसकेको छ । स्नातक तहमा ४ वर्षे कोर्षको पाठ्यक्रम बनाउन लागिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । विश्वविद्यालयले अहिले विज्ञ र सरोकारवालाहरूसँग पाठ्यक्रमका विषयमा छलफल गरिरहेको छ । एक वर्षपछि स्नातक तहको कृषि कार्यक्रम सञ्चालन गर्नेगरी पाठ्यक्रम निर्माणमा जुटेको हो ।

कर्णाली प्रदेश सरकारले पनि अर्गानिक प्रदेश गराउने योजना अघि सारेको छ । प्रदेशको यो योजनालाई सघाउ पुग्ने र कर्णालीमा अर्गानिक कृषि उद्यमी उत्पादन गर्ने विश्वविद्यालयले लक्ष्य लिएको छ । कर्णालीको हावापानी र माटो सुहाउँदो र यही ठाउँमा उत्पादन हुने कृषिजन्य वस्तु समेटेर नै पाठ्यक्रम तयार गर्ने विश्वविद्यालयले जनाएको छ । यसका लागि जर्मनबाट प्राध्यापक डा. पिटरको नेतृत्वमा विशेषज्ञको टोलीलाई ल्याएर पाठ्यक्रमको प्रारम्भिक रूपरेखा तयार पारिएको छ । प्रारम्भिक पाठ्यक्रमको ढाँचा तथा पाठ्यक्रममा आठ वटा सेमेष्टरमा कृषिसँग सम्बन्धित विभिन्न विषयवस्तुको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन राखिएका छन् ।

कर्णालीमा उत्पादन हुने स्याउ, सुन्तला, कोदो, फापर, अदुवा, बेसार, तरकारी लगायतका कृषिजन्य वस्तुसम्बन्धीका विषय प्रारिम्भक पाठ्यक्रममा समेटिएका छन् । यसका साथै पशुपालनलाई पनि पाठ्यक्रमभित्र राखिएको जनाइएको छ । कर्णालीमा घाँसे मैदान भएकाले पनि पशुपालनतर्फ भेडा बाख्रा, गाई खरायोलगायत पशुलाई पनि पाठ्यक्रमको प्रारम्भिक ढाँचामा समेटिएको छ । विज्ञ प्राध्यापक डा. पिटरले कर्णालीमा अर्गानिक कृषिको सम्भावना भएकाले कार्यक्रम राम्रो हुने बताए । उनले भने, ‘कर्णालीमा अर्गानिक कृषिको सम्भावना छ । अर्गानिक कृषि आवश्यक पनि छ । र चुनौतीहरू पनि उत्तिकै छन् । यो कार्यक्रमलाई सफल बनाउन विश्वविद्यालले दक्ष जनशक्ति ल्याउनुपर्छ । यो अनुसन्धानका लागि पनि राम्रो हो ।’

विज्ञसहितको टोलीले सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका र सुर्खेतको लेकवेशीमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क) मा स्थलगत अनुगमन गरेर त्यहाँका जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग सुझाव समेत लिएको छ । सुर्खेतको चौकुने र दैलेखको गुराँस गाउँपालिकामा दुई वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा मान्यता दिइसकेको छ । व्यावसायिक शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिने उद्देश्यले विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ । पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि थप गहिराइमा पुगेर चरणबद्ध छलफल गरिने र तत्पश्चात् कार्यशाला गोष्ठीका माध्यमबाट सरोकारवालाहरूको सुझावलाई समेत आत्मसात् गरी पाठ्यक्रमलाई विधिवत रूपमा स्वीकृतिको प्रक्रियामा लैजाने विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन विष्णुकुमार खड्काले जानकारी दिए ।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयपाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारीले अबको एक वर्षमा पाठ्यक्रम तयार भइसक्ने जानकारी दिए । कर्णाली प्रदेश सरकारले पनि कर्णालीलाई अर्गानिक प्रदेशको रूपमा विकास गर्न लागेकाले आफूहरूले यो विषयमा पाठ्यक्रम तयार गर्न लागेको निर्देशक तिवारीको भनाइ छ । उनले भने, ‘कर्णालीमा अर्गानिक कृषिको सम्भावना रहेको छ । ढिलै भए पनि हामीले सुरुवात गर्दैछौं । विश्वविद्यालयले अर्गानिक कृषि उद्यमी तयार गरेर प्रदेश सरकारको योजनामा सफल बनाउन सघाउँछ ।’ कर्णालीको अर्गानिक वस्तु विश्वबजारसम्म निर्यात गर्नका लागि पनि अर्गानिक कृषि उद्यमी उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए ।

प्रकाशित मितिः   २० भाद्र २०७६, शुक्रबार ११:५४