वारुणयन्त्र ल्याइदै

सुर्खेत : कर्णाली प्रदेशमा तीन वटा आधुनिक वारुणयन्त्र भीत्र्याइने भएको छ । यहाँ तीन वटा विमानस्थलका लागि लागि अत्याधुनिक वारुणयन्त्र ल्याउन लागिएको हो । ती वारुणयन्त्र चितवन आइपुगेको जनाइएको छ ।

मुगुको रारा, जुम्ला विमानस्थल र हुम्लाको सिमकोट विमानस्थलका लागि वारुणयन्त्र ल्याइएको हो । एउटा वारुणयन्त्रलाई एक करोड पर्ने जनाइएको छ । यसैगरी भरतपुर विमानस्थल र धनगढी विमानस्थलका लागि ठूलो क्षमताको वारुणयन्त्र ल्याइएको छ भने अन्य पाँच वटाका लागि कम क्षमताका ल्याइएको हो । मुस्ताङको जोमसोम र संखुवासभाको तुम्लिङटार विमानस्थलका लागि सानो क्षमताका वारुणयन्त्र रहेका छन् ।

ती वारुणयन्त्र नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयले खरिद गरी पठाएको हो । नेपाली ११ करोड रूपैयाँमा खरिद गरी अस्ट्रियाबाट ती वारुणयन्त्र नेपाल ल्याइएको हो । कर्णालीमा ल्याइने बारुणयन्त्रमा दुई सय लिटरको पानीको ट्याङ्की र २० लिटरको फम ट्याङ्की रहेको छ । यसले २० मिटर टाढासम्मको आगो निभाउन सक्ने बताइएको छ । विमानस्थल वरपरको चार किलोमिटर क्षेत्रमा भएको आगलागी नियन्त्रणमा प्रयोग गर्न सकिने छ ।

वारुणयन्त्र ठूला भौतिक संरचना, विमान दुर्घटना लगायत ठूला आगलागीका घटनामा प्रयोग गर्न सकिने बताइएको छ । आधुनिक प्रविधि जडित रहेकाले प्रभावकारी हुने देखिन्छ । खबर पाएको ३ मिनेटमा घटनास्थलमा पुग्ने गरी यी वारुणयन्त्र तयारी अवस्थामा रहनेछन् । केही समयभित्रै अस्ट्रियाबाट विज्ञ टोली नेपाल आएर प्रयोग गर्ने तरिका, चुनौती लगायत विषयमा सम्बन्धित विमानस्थलका कर्मचारीलाई तालिम दिनेछन् । त्यसपछि सम्बन्धित विमानस्थलले प्रयोग गर्नेछन् ।

प्रकाशित मितिः   १७ भाद्र २०७६, मंगलवार ११:२३