‘जुम्लालाई मौसमी राजधानी बनाउनुपर्छ’

जुम्ला : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जुम्लालाई मौसमी राजधानी बनाउन सकिने धारणा राखेकी छिन् । सोमवार जुम्लाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेकी हुन् ।

अहिलेलाई वीरेन्द्रनगर मुख्य राजधानी भए पनि आवश्यकता अनुसार जुम्लालाई मौसमी राजधानी बनाउन सकिने उनको भनाइ थियो । राजधानी तोक्ने बेला भौतिक पूर्वाधार र सरकारी जग्गाको उपलब्धताका हिसाबले सुर्खेतलाई बनाइएको भन्दै उनले जुम्ला पनि उपयुक्त स्थान भएको जिकिर गरिन् । साविक कर्णालीको समानुपातिक विकासका लागि पनि कर्णाली प्रदेशले नयाँ सोच र योजनाका साथ काम गर्नुपर्ने उनको भनाइ थियो । साथै उनले मौसमी राजधानी बनाउनका लागि पहल गर्न जुम्लावासीलाई आग्रह समेत गरिन् । ‘जुम्लाका नागरिकले पहल गर्नुपर्छ । पूर्वाधार निर्माणको लागि हामी तयार छौं । यत्ति हुन सक्यो भने मौमसी राजधानी हुनेछ । वर्षामा जुम्लाबाट राज्य चलाउनु निकै उपयुक्त हुनेछ’ उनले भनिन् ।

यसैगरी मन्त्री केसीले कर्णाली प्रदेश सम्भावनाको खानी भएकोले त्यसलाई सदुपयोग गर्दै समृद्ध प्रदेश बनाउनुपर्नेमा जोड दिइन् । यहाँको उत्पादन बढाएर निर्यात बढाउने र आयात घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको उनको भनाइ थियो । कर्णाली प्रदेश सरकार स्थापनापछि दुई वर्षमा सम्भाव्यता अध्ययन गरी मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न थालिएको बताइन् ।

उद्योग, कलकारखाना, कोल्ड स्टोर सञ्चालनमा ल्याउनका लागि सबैभन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउन आवश्यक रहेकोमा उनले जोड दिइन् । मन्त्री केसीले जुम्लाका गाउँपालिकामा धेरै क्षमता भएको कोल्ड स्टोर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको लागि योजना रहेको तथा चालु आर्थिक वर्षदेखि अनुदान नभइ सफ्ट लोन दिने निर्णय रहेको जानकारी पनि दिइन् । अनुदान रकम दुरूपयोग हुनसक्ने भएकाले त्यसलाई रोक्न र किसानको जीवनस्तर परिवर्तन गर्न सफ्ट लोन दिन लागेको उनको भनाइ थियो । साथै प्रदेश सरकारले प्रत्येक नागरिकको आर्थिक जीवनस्तर परिवर्तन गराउने योजनाका साथ काम गर्दै आएको दावी समेत गरिन ।

प्रकाशित मितिः   १७ भाद्र २०७६, मंगलवार ११:२१