बदलिए तीजका बान्की


सुर्खेत : नजिकै विद्यालय थियो । गाउँभरीका दिदीबहिनी त्यही जम्मा हुन्थे । हेर्न आउने पुरुषहरूको संख्या पनि ठूलै हुन्थ्यो । बरपिपलको छायाँमा जोर मादल बज्थे । महिलाहरू कोही गाउँथे, कोही पालैपालो कम्मर मर्काउँथे । ती दिन सम्झिँदा मात्र पनि वीरेन्द्रनगर–१४ गढीकी ६५ वर्षीया राममाया थापाका खुट्टा उचालिन्छन् । अतितको गर्तमा पुग्छिन् । ‘अहो ! ती दिन पो रमाइला थिए, अहिले त के भयो भयो’ उनी पहिले र अहिलेको तीजको तुलना गर्छिन् ।

यो वर्ष पनि उनले तीज हेरिन् । तर तीजको दिन उनलाई तीजजस्तै लागेन । कुनै रौनकले छोएन । भन्छिन्, ‘अचेल त गीत गाउनै छोडे, न मादल बजाउँछन् । डेग बजाएर नाँच्छन्, न रमाइलो छ न तीजको मौलिकता बचेको छ ।’ बदलिदैं गएको तीजले उनलाई चिन्तित बनाएको छ । राममायाले भनेजस्तै पछिल्लो समय तीजको बान्की बदलिएका छन् । पहिलेको मौलिकता हराउँदै गएको छ । मनाउने तरिका मात्रै बदलिएन गाउने गीत र बजाउने बाजा समेत फेरिए । मादल बजाएर नाँचेको भेट्नै मुस्किल पर्छ । तीजको मुख्य दिन सोमवार वीरेन्द्रनगर उपत्यकाभित्र मादल बजाएर र आफैले गीत गाएर नाँचेको दृष्य निक्कै कम मात्रै देखिए । चाहे बागीना समूह सुर्खेतले वीरेन्द्रनगरको खुलामञ्चमा आयोजना गरेको तीज महोत्सवमा सहभागी भएकाहरूले होस् या उपत्यकाका अन्य क्षेत्रमा भेला भएर नाँचेकाहरूले पनि मादलको भन्दा बढी डेगकै प्रयोग गरेको भेटियो । डेगमा अहिले चल्तीमा रहेको गीत बजाएर नाँच्नेहरूको संख्या नै बढ्दै गएको छ ।

समय बदलिएसँगै गीतका भाका र शब्द पनि बदलिएका छन् । घरमा पाएका दुःख, माइतीसँगका गुनासा, साथीसंगिनीसँगको रमाइलो लगायतका शब्दले भरिने पहिलेका तीजका भाकामा हिजोआज भने आधुनिक जीवनशैली र यसले निम्त्याएका विकृतिमाथि केन्द्रित हुने गरेका छन् । ‘दिदी–बहिनीको बेदना र हर्ष मिसिएका गीत गाइन्थे पहिले’ अहिलेका गीतप्रति असन्तुष्ट राममायाले थपिन्, ‘दोहोरो अर्थ लाग्ने र सुन्नै पनि नसकिने गीत डेगमा बजाएर नाँच्ने चलन आएको छ ।’ यसले संस्कृतिलाई नै विकृत बनाएको उनी बताउँछिन् ।

तीजको दिन खुला ठाउँ र चौतारोहरूमा भेला भएर नाँच्ने महिलाहरूको संख्या पनि पातलिँदो छ । विगतका वर्षहरूमा तीजको रौनकले पोतिने वीरेन्द्रनगरकै अधिकांश चौतारोहरू यस वर्षको तीजकै दिन पनि सुनसान रहे । नजिकका बस्तीहरूबाट महिलाहरू खुलामञ्चमा भेला भए पनि अधिकांश भने डेग बजाएरै नाँचिरहेका थिए ।

सहरभित्र मात्र होइन ग्रामीण भेगमा पनि तीज पहिलेको जस्तो नरहेको बताउँछिन् वीरेन्द्रनगरको वडा नं. १५ रतुकी ६० वर्षीया पवित्रा विक । ‘संस्कृतिको नाममा विकृति भित्रियो’ उनले भनिन्, ‘सहरकै सिको गर्दै गाउँमा पनि गीत गाउन र मादल बजाउन छोडे, डेग बजाएर नाँच्छन्, देखावटी बढी भयो ।’ देखासिखी गर्दा मौलिकता हराएको उनको गुनासो छ ।

समयसँगै बदलिएको बान्कीमा नयाँ पुस्ता रमाइरहेको छ भने पुरानो पुस्ता पहिलेकै तीजको रौनकको खोजीमा छ । तर अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीचको तालमेल नमिले पनि यस वर्ष हिन्दु महिलाहरूले हर्षोल्लासका साथ तीज पर्व मनाएका छन् ।

प्रकाशित मितिः   १७ भाद्र २०७६, मंगलवार ११:१८