पाठक घटेकोमा चिन्ता व्यक्त

सुर्खेत : प्रेरणा पुस्तकालय वीरेन्द्रनगर–८ सुर्खेतले १२औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आइतवार वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘पठन संस्कृतिको पूर्वाधारः पुस्तकालयको विकास र विस्तार’ भन्ने मूल नाराका साथ आयोजित उक्त अन्तरक्रिया र्यक्रमका सहभागीहरूले प्रविधिको विकास सँगसँगै पुस्तक पढ्ने पाठकको कमी आएकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक भक्तबहादुर ढकालले प्रविधिको विकाससँगै डिजिटल सामग्रीप्रति पाठकहरू आकर्षित भए पनि डिजिटल सामग्रीले मुद्रण सामग्रीको महŒवलाई पूर्ति गर्न नसक्ने बताए । उनले राज्यले एक गाउँः एक सामुदायिक पुस्तकालयको अवधारणा ल्याएको बताउँदै पुस्तकालयको विकासका लागि पुस्तकालयको प्रदेशस्तरीय छाता संगठन निर्माण गर्नुपर्ने समेत बताए ।

त्यस्तै विशेष अतिथि प्रेरणा पुस्तकालयका सल्लााहकार कमलराज रेग्मीले आर्थिक अभावका कारण पुस्तकालयहरू सञ्चालनमा कठिनाइ भए पनि आगामी दिनमा सबैको सहयोग भएमा पुस्तकालयलाई आधुनिकीकरणसँगै व्यवस्थित समेत गर्न सकिने बताए । त्यसैगरी शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकालले पछिल्लो पुस्ताका युवाहरू पुस्तक पढ्ने भन्दा पनि इन्टरनेटमा सामाजिक सञ्जालमा व्यस्त हुने संस्कार विकास भएको बताउँदै यसले सामाजिक क्षेत्रमा नकारात्मक असर पर्नेमा चिन्ता व्यक्त गरे ।

प्रेरणा पुस्तकालयका अध्यक्ष मिनराज पन्तको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष भोजबहादुर रेग्मी, साहित्यकार डा. दीपक गौतम, वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ का प्रतिनिधि सुरविर चन्द, ज्योति पुस्तकालयका अध्यक्ष लक्ष्मण शर्मा लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   १६ भाद्र २०७६, सोमबार १२:१३