बजेट कार्यान्वयनमा लाग्न निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार बिहान विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूको बैठक बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । नयाँ संरचना बमोजिमका कार्यालय स्थापना तथा बजेट कार्यान्वयनमा देखिएका समस्याको विषयमा जानकारी लिएका मुख्यमन्त्री शाहीले बैठकका क्रममा कार्यालय स्थापना, बजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरू समाधान गर्न निर्देशन दिए । विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘मन्त्रालय र अन्तरमन्त्रालयका बीचमा देखिएका कानूनी, प्राविधिक एवम् प्रक्रियागत समस्या समाधान गरी तत्काल कार्यालय स्थापना र बजेट कार्यान्वयन अगाडि बढाउनुस् ।’

यसैबीच शाहीले सुस्त गतिमा कर्णालीको विकास नहुने भन्दै रफ्तार बढाउनुपर्ने धारणा राखेका छन् । उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आइतवार भएको बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले फूटपाथको व्यापार गरे जस्तो विकास गरेर कर्णाली बनाउन नसकिने धारणा राखेका हुन् । कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्र गतिमा विकास कार्यलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

कर्णालीको विकास र समृद्धिको लागि बृहत गुरुयोजनाको आवश्यक रहेको भन्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजना सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट पारे । साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   १६ भाद्र २०७६, सोमबार १२:११