शर्माको उपचारमा मन्त्रीको सहयोग

सुर्खेत : नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । शर्माको बोनम्यारो प्रत्यारोपणका लागि मन्त्री राईले नगद ५० हजार रूपैयाँ सहयोग गरेका हुन् ।

गृह जिल्ला बाँके आएका सहरी विकास मन्त्री राईले बाँकेका पत्रकारहरूको आग्रहमा नेपालगन्जका पत्रकार रुद्र सुवेदीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । शर्माको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । बोनम्यारो प्रत्यारोपणमा आर्थिक अभाव भएपछि सहयोग संकलन समेत भइरहेको छ ।

मन्त्री राईले शर्मा सँगसँगै अर्का पत्रकार एवम् लेखक रेशम बिरहीको उपचारका लागि समेत सहयोग गरेका छन् । आन्द्राको क्यान्सरबाट पीडित रहेका बिरहीको उपचार सहयोगको लागि नगद पचास हजार सहयोग गरेका हुन् । उक्त रकम नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलाई हस्तान्तरण गरिएको थियो ।