आज हरितालिका तीज

सुर्खेत : आज भाद्र शुक्ल तृतीया अर्थात्, हरितालिका तीज । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । नेपालमा मात्र होइन विदेशमा भएका हिन्दु धर्मावलम्बीहरूलाई आज भव्य रूपमा तीज पर्व मनाउँदैछन् । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सु–स्वास्थ्य र दीर्घायू हुने तथा अविवाहित युवतीहरूले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ । तीज पर्वलाई महिलाहरूको मनको वह पोख्ने अवसरको रूपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरूले महिला अधिकारको लडाईंको रूपमा तीजलाई व्याख्या गरेका छन् । हरितालिका तीजको भोलिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ ।

यसैबीच कला संस्कृति संरक्षणमा विगत २ दशकदेखि क्रियाशील बागीना समूहले विगतमा जस्तै यो वर्ष पनि हरितालिका तीज एवम् सद्भावना मेलाको आयोजना गरेको छ । समूहले आइतवार पत्रकार सम्मेलन गरी मेला आयोजना गरिएको जानकारी दिएको छ । कार्यक्रमका संयोजक सीता भण्डारीले यो वर्ष पनि नेपाली हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीजलाई भव्य र सभ्य रूपमा मनाउन मेलाको आयोजना गरिएको जानकारी दिइन् । पछिल्लो समय तीज भड्किलो रूपमा मनाउन लागिएको भन्दै त्यसलाई व्यवस्थित गर्न र सँस्कृति जगेर्नाको सन्देश दिन मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

वरिष्ठ कलाकार एवम् बागीना समूहका सल्लाहकार प्रेमदेव गिरीले तीजकै दिन सुर्खेतको खुल्ला चौरमा मेलाको आयोजना गरी त्यसमा सहभागी हुने दिदीबहिनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गरिने जानकारी दिए । ‘दिदी–बहिनीहरू सामूहिक रूपमा मादल बजाएर मौलिक भेषभूषा तथा गीतमा नाँच्नुहुन्छ र हामीहरू त्यसकै आधारमा मूल्याङ्कन गरी पुरस्कृत गर्दछौं,’ कलाकार गिरीले भने, ‘भड्किलो भेषभूषा र गहनालाई निरुत्साहित गर्नुपर्दछ भने सँस्कृति संरक्षणलाई प्राथमिकता दिनुपर्दछ यही नै यसको सन्देश हो ।’

वरिष्ठ कलाकार गंगाबहादुर केसीले मेलामा आफ्नो प्रस्तुतीमार्पmत उत्कृष्ट गीत, नृत्य, गायन, मादल बादन लगायतमा दिदी–बहिनीहरूले पुरस्कार प्राप्त गर्ने बताए । ‘अघिल्ला वर्षहरूमा एउटै समूहले पनि कहिलेकाहीँ डोको भरी उपहार पाउनुभएको छ’, उनले भने, ‘मौलिकता हराउँदै गयो, त्यसको संरक्षण होस् र तीजलाई महिलाहरूको बेदना पोख्ने तथा खुशी साटासाट गर्ने सुसभ्य माध्यम बनाउने बागीनाको उद्देश्य हो ।’

प्रकाशित मितिः   १६ भाद्र २०७६, सोमबार १२:०५