रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

अटोरिक्सा चलाउँदै वीरेन्द्रनगर–४ की सिर्जना गुरूङ्ग ।

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ की सिर्जना गुरूङ्ग वीरेन्द्रनगरमा अटोरिक्सा चलाउँछिन् । बिहान पाँच बजे घरबाट निस्कने, आठ बजे पुनः घर आएर खाना पकाउने र छोराछोरीलाई स्कुल छोडेर फेरि अटोरिक्सा चलाउन बजार पुग्ने उनको दैनिकी हो । यही व्यस्त दैनिकीले उनलाई आत्मनिर्भरताको बाटोतर्फ डो¥याउँदैछ । अब उनलाई लाग्न थालेको छ, पैसा कमाउनकै लागि श्रीमान्ले भारत गएर पसिना बगाउनुपर्ने बाध्यता हट्नेछ ।

सिर्जना बेरोजगार हुन्जेल श्रीमान् मात्रै थिए कमाउने । उनी पनि पैसा कमाउन भारत धाउँथे । तर उताबाट कमाएर ल्याएको पैसाले पनि घरखर्च धान्न मुस्किल पथ्र्यो । त्यही अभावको पीडाले पिरोलिएकी सिर्जनाले अटोरिक्सा चलाउने तालिम लिइन् । तालिमबाट सीप सिकेलगत्तै उनी स्वरोजगार समेत भइसकेकी छिन् ।

वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको अटोरिक्सा चलाउने सम्बन्धी तालिममा सहभागी भएपछि उनले एक महिनासम्म लगाएर अटोरिक्सा चलाउन सिकिन् । ‘श्रीमान्को कमाईले मात्र छोराछोरी पढाउन र घर खर्च धान्न धेरै समस्या हुन्थ्यो । कहिलेकाहीँ यसै विषयमा झगडा पनि हुने गथ्र्यों’ उनले भनिन्, ‘मैले अटोरिक्सा चलाउँछु भनेर कल्पना पनि गरेको थिएन । नगरपालिकाले सहयोग गरेपछि अहिले अटो चलाउन थालेको छु । अब त आफै आत्मनिर्भर भएपछि श्रीमान्लाई पनि सहयोग पुग्छ । आर्थिक रूपमा सहयोग होला भन्ने अपेक्षा छ ।’ अहिले उनले दैनिक एक हजार रूपैयाँसम्म बचत गर्ने गरेकी छिन् ।

यस्तै वीरेन्द्रनगर–७ की मौसमी शाहीले पनि नगरपालिकाको सहयोगमा वीरेन्द्रनगरमा अटोरिक्सा चलाउन थालेकी छिन् । रिक्साबाट राम्रो कमाइ भइरहेको उनले बताइन् । ‘अहिले चाडपर्वको सिजन भएकाले दिनमा दुई हजार पाँचसयसम्म कमाइ भएको छ । अब त केही गर्छु भन्ने आत्मविश्वास बढेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाले महिला रोजगारलाई जोड दिएको छ । ‘एक घर–एक महिला स्वरोजगारः वीरेन्द्रनगरको समृद्धि र विकासको आधार’ भन्ने मूल नाराका साथ महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी नगरपालिका अघि बढेको उप–प्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘हामीले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन खोजेका छौं नगरपालिकाले विभिन्न सीपहरू प्रदान गर्नुका साथै अनुदान पनि दिने गरेको छ ।’

हाल नगरपालिका आफैले तालिम दिएर अटोको व्यवस्था गरिदिएपछि वीरेन्द्रनरमा आठ जना महिलाले अटो रिक्सा चलाउँदै आइरहेका छन् । नगरपालिकाले एक लाख अनुदान र एक लाख ऋणको व्यवस्था गरिदिएको छ । नगरपालिकाले दिएको एक लाख रूपैयाँ विना ब्याजमा दिएको हो । तालिम दिइएका अन्य महिलाहरूको लाइसेन्स आएपछि वितरण गर्ने तयारी भएको ढकालले जानकारी दिइन् ।

नगरपालिकाले ढाकाको कपडा बुन्न र सिलाइ–कटाइ तालिम पनि दिइरहेको छ । वीरेन्द्रनगर–१५ र १६ मा २६ जना महिलाई सिलाइ–कटाइ तालिम दिइसकिएको र उनीहरूलाई मेशिन वितरण गरिएको छ । ६० जना महिलाहरूले ढाकाको कपडा बुनाई तालिम लिएका छन् । चालु आर्थिक वर्षमा थप ४० जना महिलाहरूलाई ढाका बुनाई तालिम दिइने नगरपालिकाले लक्ष्य लिएको छ । नगरपालिकाले एउटा ट्रष्ट खोलेर सीप सिकेका महिलाहरूलाई कपडा उत्पादनमा लगाउने र बजारीकरण पनि आफैले गरीदिने तयारी गरेको उपप्रमुख ढकालले जानकारी दिइन् । महिला स्वरोजगारका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । वडास्तरबाट पनि महिलाहरूलाई सिलाइ–कटाइलगायतका तालिम र विभिन्न महिला सहकारीबाट पनि सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको उप–प्रमुख ढकालले बताइन् । कम्तीमा पनि ६ सय महिलाहरूलाई प्रत्यक्ष रूपमा रोजगार गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १६ भाद्र २०७६, सोमबार १२:०२