दोषीलाई कारबाही गर

शुक्रवार बिहान सुर्खेतमा डेढ दर्जन बढी चौपाया (गाईगोरु) मृत अवस्थामा फेला परे भने डेढ सयभन्दा बढी घाइते । यो विभत्स घटना यतिबेला मुलुकभर चर्चाको विषय बनेको छ । तर मृत अवस्थामा भेटिएका चौपायाको हत्या गरिएको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यद्यपि ती चौपाया कहाँबाट ल्याइएको हो भन्नेबारे प्रष्ट भइसकेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले स्थानीय प्रशासनको अनुमतिमा दैलेख पठाउने भनेर सुर्खेत भित्र्याइएकाे थियो । आठ वटा गाडीमा राखेर ल्याएका चौपायालाई दैलेख नपु¥याइ सुर्खेतमै छोडियो । यतिसम्म प्रष्ट छ । तर घटनास्थलको अवस्था हेर्दा आफै मृत्यु नभइ हत्या गरिएको हुनसक्ने आशंका गर्न सकिने प्रशस्त आधार छन् । जस्तो कि मृत अवस्थाका पशु सडक नजिकैको भीरबाट लडेका छन् । एकै ठाउँमा सोत्तर लागेका छन् । अन्य पनि घाइते अवस्थामा छन् । जसले गर्दा ट्रकबाट भीरमा लडाइएको अनुमान स्थानीयको छ । प्रहरीका अनुसार बिहीवार नेपालगन्जबाट दैलेख लैजाने भनी आठ वटा ट्रकमा राखेर दुई सय बढी गाईगोरु ल्याइएको थियो । राती १२ बजेर १ मिनेटमा गाईगोरु लिएर नेपालगन्जबाट आएका आठ वटा गाडी सुब्बाकुना प्रहरी पोष्टमा इन्ट्री भएको देखिन्छ । यसरी नेपालगन्जबाट रातारात सुर्खेत ल्याई पु¥याइएका गाइगोरु जंगलमा छोड्नु आफैमा नेपालगन्ज उप–महानगरपालिकाको खेदजनक कार्य हो ।

उसो त सहरी क्षेत्रमा छाडा छोड्ने गरेका चौपाया टाउको दुखाईको विषय बन्ने गरेका छन् । चौपायाको हुलले सडक नै अवरुद्ध गर्नेदेखि दुर्घटना समेत निम्तिने गरेका छन् । यसको व्यवस्थापन स्थानीय सरकारलाई चुनौतीको विषय बन्दै आएको छ । तर व्यवस्थापनका लागि एक ठाउँबाट अर्को ठाउँमा लगेर अलपत्र छोड्ने वा क्रूरतापूर्वक हत्या गर्ने घटना भने आपराधिक कार्य हो । पशुचौपायामाथिको अपराध कानुनी रुपमा पनि बर्जित छ । त्यसमाथि गाई मुलुकको राष्ट्रिय जनावर समेत हो । यसको बध गर्नु जघन्य अपराध हो । यस्तो कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ । झन् जनप्रतिनिधिहरुकै योजनामा यो कार्य भएमा उनीहरुमाथि नैतिक प्रश्नसमेत उत्पन्न हुन जान्छ र कारबाहीको भागिदार पनि बन्नै पर्दछ । त्यसैले सुर्खेतमा अलपत्र पारिएका र मृत अवस्थामा भेटिएका चौपायाको वास्तविकता अनुसन्धान गरी दोषीलाई तत्काल कारबाही गर्नुपर्दछ ।

अर्कोतर्फ दूध दिनेबेलासम्म गाईहरु पाल्ने र दूध दिन छोडेपछि अलपत्र छोड्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्नुपर्दछ । पशु मानिसका आवश्यकता उपयोग गर्ने साधन मात्र होइनन् । प्रकृतिमा रहेका हरेक प्राणीको आ–आफ्नै अधिकार हुन्छन् । त्यसमािथ मानिसले आफ्नो उपयोगका लागि पालन गर्ने पशुचौपायाको संरक्षण र सुरक्षा मानिसकै कर्तव्य हो ।