चौपायामाथि चरम अपराध


सुर्खेत : मानिसहरूको स्वार्थी र अमानवीय व्यवहारको सिकार पशुहरू कसरी बनिरहेका छन् भन्ने दृष्टान्त सहरमा छाडा छोडिएका चौपाया (गाईगोरु)को दृश्यले मात्रै पनि देखाउँछ । तर त्योभन्दा पनि चरम अपराधको अर्को दृष्टान्त हो, शुक्रवार सुर्खेतमा भएको घटना । वीरेन्द्रनगरको कटकुवा र ब्यूरेनीमा गरी २४ वटा चौपाया मृत अवस्थामा भेटिए । मृत्युको एकिन कारण खुल्न सकेको छैन । यद्यपि यो घटनाको पृष्ठभूमिले क्रूर मानवीय प्रवृत्तिको प्रदर्शन भने गरेको छ ।

दूध दिन छाडेपछि लखेटिन्छन् गाई

सहरी क्षेत्रमा चरनको पर्याप्त सुविधा छैन । नजिक र प्रयोग गर्न सकिने वनजंगल समेत नहुँदा गाईपालन कार्य दिनप्रति दिन कम हुँदै गएको छ । तर सँगसँगै अर्को प्रवृत्ति भित्रिएको छ । गाईले दूध दिउञ्जेलसम्म घाँसको जोहो गरेर पाल्ने र जुन दिनदेखि दूध दिन छोड्छ त्यसपछि घरबाट लखेटिदिने । यसरी लखेटिएका गाई नै सहरका सडकमा यत्रतत्र भेटिने छाडा चौपाया हुन् ।

वीरेन्द्रनगरमा पनि यस्ता छाडा छोडिएका पशुहरूको ठूलो संख्या देख्न सकिन्छ । हुल बाँधेर सडकमा हिँडिरहेका र सडक नै ढाकेर बसेका चौपायाका कारण ट्राफिक व्यवस्थापनमा चुनौती हुने गरेको छ । छाडा चौपायाकै कारण सडक दुर्घटनाको जोखिम पनि बढी हुन्छ । त्यसैले यसरी छोडिएका चौपाया व्यवस्थापन गर्नु वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधिहरूको समेत टाउको दुखाईको विषय बन्दै आएको छ ।

दोहोरो चेपुवामा पशु

सहरी क्षेत्रमा चौपायाको संख्या बढेपछि त्यसलाई व्यवस्थापन गर्ने उचित योजना छैन । नगरपालिकाले केही समय त्यस्ता छाडा पशुहरूलाई काञ्जी हाउसमा लगेर राख्ने गरेको छ । तर काञ्जी हाउसले थेग्नै नसक्ने गरी पशुहरू भेटिन्छन् ।

अर्कोतर्फ काञ्जी हाउसमा राखिएका गाई लिन सम्बन्धित पशु धनी नआएपछि त्यो झन् समस्याको विषय बन्छ । त्यसपछि नगरपालिकाले विकल्प स्वरूप काञ्जी हाउसमा राखिएका पशु शहरभन्दा परका जंगलमा लगेर छोडिन्छ । वीरेन्द्रनगरले पनि यसअघि हर्रे, बबई लगायतका जंगलमा लगेर छोड्ने गरेको थियो ।

नगरपालिकाले व्यवस्थापनका लागि भन्दै जंगलमा लगेर छोड्ने र जंगलमा छोडिएका पशुले वन विनाश गरेको भन्दै सामुदायिक वन उपभोक्ता समितिले त्यहाँबाट पनि लखेट्ने गर्दछन् । जसले गर्दा छाडा छोडिएका चौपाया दोहोरो चेपुवामा पर्दै आएका छन् ।

सरकारद्वारा छानविन समिति गठन

यसैबीच नेपालगन्जबाट ल्याएका गाईगोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समितिनै बनाइएको मन्त्रालयले जनाएको छ । समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरूलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्म कारबाही गरिने बताएको छ । दैलेखको श्रीस्थान लैजान भन्दै नेपालगन्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, वाच्छावाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगरस्थित ब्यूरेनी खोला र कटकुवामा २४ वटा गाईगोरु मृत भेटिएका थिए । अन्य एक सय बढी छाडा छोडिएका थिए ।

जीवित गाई नेपालगन्ज फिर्ता

नेपालगन्जबाट सुर्खेत ल्याएर अलपत्र छाडिएका चौपायालाई स्थानीय प्रशासनले फिर्ता गरेको छ । एक सय ६७ वटा गाईगोरुलाई शनिवार नेपालगन्ज नै फिर्ता पठाइएको हो । दैलेख लैजाने भनी आठ वटा ट्रकमा ल्याइएका गाईलाई बिहीवार राती वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुनानजिक अलपत्र छोडिएको थियो । जंगलमा छाडिएका अरु गाई पनि खोज्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । शनिवार नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी र प्रहरीले जंगलमा रहेका गाईगोरु खोजेर फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार गाईगोरु यस अघि ल्याइएको काञ्जी हाउसमै बुझाइने छ ।

विरोधमा ¥याली

यसैबीच गौहत्या गरिएको भन्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतको इलेक्ट्रोनिक्स वस्तुगत समिति सुर्खेतको आयोजनामा प्रदर्शन गरिएको हो ।

समितिका अध्यक्ष भुवन ज्ञवालीले दर्जन बढी गाई मृत भेटिनु रहस्यमय भएकाले उचित छानविनको माग गरे । उनले घटनामा ट्रक चालक मात्रै नभइ अन्य व्यक्तिको संलग्नता रहन सक्ने भन्दै निष्पक्ष छानविन गर्न आग्रह गरे । स्थानीय मंगलगढी चौकबाट निकालिएको ¥याली वीरेन्द्रचौकमा पुगेर सभामा परिणत भएको थियो ।