टाइमकार्डको प्रयोग

सडक दुर्घटनाले मानवीय तथा भौतिक क्षति निम्त्याउँछ । सुर्खेत लगायत मध्यपश्चिमका पहाडी जिल्लाहरूमा पटक–पटक सडक दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने यहाँको अवस्था भयावह र कहाली लाग्दो छ । यसलाई नियन्त्रण गर्न भने कुनै ठोस कामहरू हुनसकेको छैन । एकातर्फ भौगोलिक विकटता छ । अर्कोतर्फ जीर्ण अवस्थामा पुगिसक्दा पनि सडकको मर्मत सम्भार हुँदैनन् । त्यसैमाथि अत्याधिक चाप तथा चालकको लापरबाहीका कारण पनि दुर्घटना हुने गरेको पाइन्छ । डेढ वर्ष पहिले सुर्खेत र जाजरकोटमा ठूला सवारी दुर्घटना भए । तीव्र गतिका कारण जाजरकोटमा यात्रु बस भेरीमा खस्यो । यस्तै सुर्खेतको पोखरीकाँडामा चालकले नियन्त्रण गुमाएपछि बस भीरबाट खस्यो । एक महिनाको अवधिमा भएका ती दुर्घटनामा ७० जना यात्रुको ज्यान गयो । दर्जनौं यात्रु घाइते भए । यी लगायत ठूला सना दुर्घटनाहरू बढेपछि मध्यपश्चिमाञ्चल सुरक्षा समितिले यात्रु बसका लागि टाइमकार्ड अर्थात् सवारी आवागमन समय तालिका लागू ग¥यो । तीव्र गतिकै कारण दुर्घटना बढेको निश्कर्षसहित यसको लागू गरिएको थियो । जसको उद्देश्य हो सवारीको गति नियन्त्रण गर्नु । सवारी साधनमा टाइमकार्ड लागू भएपछि दुर्घटनामा समेत कमी आयो । त्यसपछि यस क्षेत्रमा ठूला सवारी दुर्घटना भएका छैनन् । तर दुर्घटनामा कमी आएसँगै यात्रु बसमा अनिवार्य गरिएको टाइमकार्डको व्यवस्था भने अलपत्र परेको छ ।
मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लामा सडकको अवस्था नाजुक रहेको छ । यस्ता सडकमा चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो । सवारी दुर्घटना बढेपछि पहाडी जिल्लाहरू सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र जुम्लामा सञ्चालन हुने यात्रुबाहक सवारीसाधनमा टाइमकार्ड लागू गरिएको थियो । चालकले हतारमा गन्तव्यमा पुग्न तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेपछि गति नियन्त्रणका लागि टाइमकार्ड लागू गरिएको थियो । यो व्यवस्था लागू भएपछि टाइमकार्ड अनुसार गन्तव्यमा नपुग्ने सवारी साधन र तिनका चालकलाई प्रहरीले कारबाही गर्दै आएको थियो । कारबाही हुने डर र प्रहरीको नियमित चेकजाँचका कारण चालकले पनि टाइमकार्डको पालना गर्दै आएका थिए । जसको परिणाम यो अवधिमा यो क्षेत्रमा ठूला सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । स्थानीय प्रशासन र यातायात व्यवसायी तथा मजदुरहरूको सहमतिमा लागू गरिएको टाइमकार्ड अहिले भने अलपत्र परेको हो । टाइमकार्डको व्यवस्था अलपत्र परेपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय यात्रुहरू समेत यात्रा गर्दा त्रसित हुन थालेका छन् । सुरुवातमा टाइमकार्डमा स्थानीय प्रशासन र प्रहरीले समेत कडाइ गरेको थियो । तर समय बित्दै जाँदा प्रशासन नै सुस्ताएको छ भने यातायात समिति र सवारीधनी तथा चालकहरूले पनि यसलाई पूर्णतया बेवास्ता गरेका छन् ।
जोखिम न्यूनीकरणका लागि बनाइएको विधिलाई सरोकारवाला सबैले पालना गरी दुर्घटना हुनबाट जोगाउनुपर्नेमा बेवास्ता गर्नु बिडम्वना हो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । दुर्घटना हुने कुनै निश्चित समय वा मौसम हुँदैन । सानो असावधानीले यो जतिबेला पनि र जहाँ पनि हुनसक्छ । त्यसैले सबैले समयमै र सधैं सचेतता अपनाउनु अपरिहार्य छ । सबै रुटमा तत्काल टाइमकार्ड लागू गर्न सर्वसाधारणले माग गरिरहेका छन् । सर्वसाधारणको माग मात्र होइन यो जोखिमबाट बच्ने उपाय समेत भएकाले टाइमकार्डको प्रयोगलाई निरन्तरता
दिनुपर्दछ । टाइमकार्डलाई बाध्यकारी नियमको रूपमा पालना गराउन सकेको खण्डमा दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्नेछ ।

प्रकाशित मितिः   २१ असार २०७३, मंगलवार ०६:२४