सुर्खेत लगानी वर्ष–२०७३, ६ अर्ब लगानी जिल्लामा भित्रिने
साझा बिसौनी संवाददाता
सुर्खेत, २० असार ।
सुर्खेत लगानी वर्ष–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । लगानी वर्षको आयोजक सुर्खेत उद्योग वाणिज्य संघले यही असार मसान्त भित्रमा उद्घाटन हुने जानकारी दिएको हो । त्यसका लागि सबै तयारी पूरा भएको संघले जनाएको छ ।
जिल्लामा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी वर्षको आयोजना गर्न लागिएको हो । लगानी वर्षको क्रममा सुर्खेतमा ६ अर्ब रूपैयाँ लगानी स्वरूप भित्रिने भएको छ । सुर्खेतमा कृषि, जडिबुटी र जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू तयार भएका छन् । यो वर्ष जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू लगानी गर्न तयार रहेको भन्दै ६ अर्ब रकम जिल्लामा लगानी स्वरूप भित्रिने भएको हो । यस्तै यो अवधिमा एक लाख पर्यटक जिल्लामा भित्रिने दाबी आयोजकले गरेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यही असार मसान्तभित्र सुर्खेत लगानी वर्षको उद्घाटन गर्ने अन्तिम तयारी भइरहेको बताए । उनले भने, ‘हामीले सबै तयारी पूरा गरेका छौं, उद्योग मन्त्रीको समय मिलाएर दिन तोक्ने छौं । लगानी वर्षमा जिल्लामा ६ अर्ब लगानी भित्रिनेछ, यसले यहाँको आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।’ उनले लगानी वर्षको अवसरमा एक लाख पर्यटक भिœयाउने लक्ष्य रहेको समेत जानकारी दिए । ‘लगानी र पर्यटक भिœयाउन विभिन्न प्याकेजहरू तयार छन्, मेला र महोत्सव पनि लगाइनेछ’ अध्यक्ष अधिकारीले भने, ‘आर्थिक विकासका लागि राज्यको मात्र मुख ताकेर भएन, अब हामी नै जिल्लामा लगानी भिœयाउन कम्मर कसेर लागेका छौं ।’ साथै उनले लगानी वर्षलाई सफल बनाउनका लागि सहयोग गर्न समेत सबैसँग आग्रह गरे । उनका अनुसार लगानी वर्षको उद्घाटनका लागि उद्योग मन्त्रीलाई ल्याउने तयारी छ ।
संघका अनुसार जिल्लामा लगानी गर्न चिनियाँ र जापानी व्यवसायीहरू बढी उत्साहित छन् । संघले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर लगानी वर्षको तयारीको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघले लगानी वर्षको उद्घाटनसँगै जिल्लामा कृषि, पर्यटन, जडिबुटी, जलविद्युत र खानीजन्य उद्योगहरूको विकास हुने जनाएको हो । यसका लागि विदेशी लगानीकर्ताहरूले चासो दिएका छन् । लगानी वर्षकै उद्घाटनको अवसरमा गुटुमा रहेको चौकुने सिमेन्ट उद्योगको पनि शिलान्यास गरिनेछ । पर्याप्त विकासको सम्भावना हुँदाहुँदै पनि लगानीको अभावका कारण आर्थिक विकास हुन नसकेको संघको भनाइ छ । लगानी वर्ष सफल भए सुर्खेतको मात्र नभइ समग्र ६ नम्बर प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । लगानी वर्षले जिल्लामा नयाँ रोजगारी समेत सिर्जना गर्ने अपेक्षा यहाँका नागरिकहरूले गरेका छन् । सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आर्थिक विकासको ढोका खोल्न लगानी वर्ष कोशेढुङ्गा बन्ने विश्वास गरे । साथै उनले यसलाई सफल बनाउनका लागि सबैले साथ दिनुपर्ने बताए ।
लगानी वर्षकै अवसर पारेर आउँदो मंसिर २३ देखि पुस ३ गतेसम्म लगानी मेलाको पनि आयोजना गरिएको छ । लगानी वर्षको चर्चासँगै यस क्षेत्रका व्यवसायीहरू पनि उत्साहित बनेका छन् । लगानीको वातावरण नहुँदा थला परेको आर्थिक विकासको गति अब अगाडि बढ्ने उनीहरूको विश्वास रहेको छ । लगानी वर्षको अवधिमा जिल्लामा थप नयाँ उद्योग तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ ।
यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र जलविद्युतको क्षेत्रमा पनि लगानी आकर्षण गर्नका लागि कार्यक्रमहरू तयार पारिएको उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीले जानकारी दिए । यस्तै कर्णाली र भेरी करिडोरको सुधार, होमस्टे सञ्चालन, पर्यावरणीय औद्योगिक गाउँ स्थापना र लघुउद्यम विकास ग्रामको अवधारणा अगाडि बढाइएको छ । यसले पनि यस क्षेत्रको आर्थिक विकासको ढोका खुल्ने अध्यक्ष अधिकारीले दाबी गरे । सुर्खेतमा कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय लगानी भित्रिने अपेक्षा गरिएको छ ।
साझा बिसौनी संवाददाता ।